कांग्रेस सभापति देउवाले गरे कोरोना बिरुद्ध सक्रिय फ्रण्टलाईनरहरुको उच्च प्रशंसा

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण बिरुद्ध स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनरहरुको मेहनतको प्रशंसा गर्दै राज्यले एकदिन यो कुराको मूल्यांकन गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै देउवाले कोरोना महामारीविरुद्ध अगपंक्तिमा रहेर खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकसहितको उच्च प्रशंसा समेत गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले यो कठीन समयमा अग्रपंतिमा खटिनेहरुले गरेको योगदानको ‘एक दिन’ राज्यले कदर गर्ने समेत बताएका छन्।
‘कोरोना महामारीको अहिलेको कठीन समयमा दिनरात बिरामीहरुको उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मीहरु, एम्बुलेन्स चालक लगायत फ्रन्टलाइनमा काम गर्ने सबैप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँहरुको उच्च प्रशंसा गर्न चाहन्छु,’ देउवाले भेनका छन्, ‘सरकार कोरोना नियन्त्रणमा लगभग असफल भएको अहिलेको अवस्थामा तपाईं फ्रन्टलाइनरहरुको मेहनतले बिरामीहरुमा आशाको किरण देखिएको छ। एकदिन राज्यले पक्कै पनि तपाईंहरुको यो कठीन अवस्थामा गरेको योगदानको कदर गर्ने नै छ।’

