कोरोनाको कहर : प्राथमिक मन‍ोबैज्ञानिक सहयोग जरुरी



गोपाल ढकाल मनोविद,

नेपालमा पनि अहिले कोरोना भाईरसको दोस्रो लहर सुरु भएको छ । कोरोना भाईरसका कारण बिश्वले गत एक बर्ष देखि ठूलो संकटको सामना गरिरहेको छ । कतिपय देशहरुमा फेरि लकडाउन शुरु भएकोछ । नेपालमा पनि कतिपय ठाउँहरुमा निषेधाज्ञा शुरु भईसकेको अबस्था छ ।

भुकम्प , बाढी पैरो जस्ता प्राकृतिक बिपति , रोग ब्याधिको प्रकोप तथा मानव सिर्जित अन्य दुखद घटनाहरुले व्यक्तिको मन र समाजमा असहज अबस्था उत्पन्न गरिदिन्छ । यस्तो अवस्थामा राहत जस्तो भौतिक सहयोग मात्र प्रयाप्त हुदैन । उनीहरुलाई मनोसामाजिक वा भावनात्मक सहयोगको पनि अति जरुरत पर्दछ ।
ब्यक्ति र समुदायमा देखिएको मनोबैज्ञानिक समस्यालाई कम गर्न घटना घटे लगत्तै शुरुमा दिईने भावनात्मक तथा व्यवहारिक सहयोगनै प्राथमिक मनोबैज्ञानिक सहयोग हो ।

विषम परिस्थितिमा मान्छेको मनमा आउने अशान्ति , डर – चिन्ता , तनाब , नैरस्यता जस्ता भाबनात्मक समस्यालाई कम गर्न र दैनिक जिवनमा आउने व्यवहार जन्य गडबढीलाई ब्यबस्थापन गर्न प्राथमिक मनोबैज्ञानिक सहयोगले मद्दत गर्छ । बेलैमा मनोबैज्ञानिक सहयोग पाएको खण्डमा धेरै जसो समस्या केही समयको अन्तराल पछि आफै कम भएर जान्छ। यसका साथै प्रभावित व्यक्ति वा समुदायलाई बेलैमा प्राथमिक मनोबैज्ञानिक सहयोग प्रदान गर्ने हो भने पछि देखापर्न सक्ने मानसिक रोग एवं मनोसामाजिक समस्यालाई समेत न्युनिकरण गर्न सकिन्छ ।

अहिले फेरि कोरोनाको संक्रमण बढदै गएकाले ब्यक्तिमा बिभिन्न किसिमका मनोबैज्ञानिक समस्याका लक्षणहरु देखिन सक्छन् ।
कस्ता कस्ता लक्षण देखिन्छन् त ?
मनमा कुरा खेल्नु ,झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको- पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु, कब्जियत हुनु , शरिरमा थकान लाग्नु, श्वास फेर्न गाह्रो भएको महसुसहुनु, छाती भारी हुनु, रिस उठनु, ध्यान केन्द्रित गर्न नसक्नु, चाडै विर्सनु, मन दुःखी हुनु, सामान्य भन्दा बढी डर / चिन्ता / पिर पर्नु, छटपटि हुनु, निर्णय लिन नसक्नु, डर लाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही होला कि भन्ने डर लाग्नु, शरीर तातो बा चिसो भएको महसुस हुनु जस्ता लक्षणहरु देखिन सक्छन् । बिपति वा असहज अबस्थामा देखिने यस्ता लक्षणहरु सामान्य र स्वभाविक लक्षणहरु हुन ।
यि लक्षणहरु लामो समयसम्म रहेमा भने मनोसामाजिक समस्या तथा मानसिक रोगको जोखिम हुन्छ ।

प्राथमिक मनोबैज्ञानिक सहयोग कसलाई बढि जरुरी ?
कोरोनाको कहरले घटि बढि सबै ब्यक्तिहरुलाई असर पुर्याएको छ । तर पनि
बालबालिका , सुत्केरी तथा गर्भवती महिला, जेष्ठ नागरिक , अशक्त , अपांग , दिर्घरोगी, कोरोनाका संक्रमित ब्यक्तिहरु , कोरोनाको आशंका गरिएका ब्यक्ति , कोरोनाको उपचारको क्रममा रहेका ब्यक्ति र तिनको परिवार , आफन्त गुमाएको परिवारका सदस्यहरु, अस्पतालबाट सन्चो भएर फर्किएका ब्यक्तिहरु , अस्थिर र दुबिधामा परेका ब्यक्तिहरु, होम आईसोलेशन र क्वारेन्टाइनमा भएका ब्यक्तिहरुलाई बिशेष प्राथमिकतामा राखेर प्राथमिक मनोबैज्ञानिक सहयोग गर्नुपर्छ ।
स्बाथ्यकर्मी , सुरक्षाकर्मी , पत्रकारहरु पनि आ – आफ्नो कार्य क्षेत्रमा दिनरात खटि रहेका हुन्छन । जोखिमको बेला अग्रपङतिमा खटिने ब्यक्तिहरुलाई पनि मनोबैज्ञानिक असर वा मानसिक आघात पर्न सक्ने जोखिम अरु भन्दा धेरै हुन्छ । उनीहरुका लागि पनि प्राथमिक मनोबैज्ञानिक सहयोग तथा स्व हेरचाहको अति जरुरत पर्दछ ।
समस्या कसरी कम गर्न सकिन्छ ?

मनका वह पोख्दा , घरपरिवार, साथीभाई वा समाजको साथ र सहयोग पाउँदा , परिवारसँग बस्दा, सहयोगको आदान प्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सुचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउदा, मनोरञ्चन, खेलकुद, व्यायाम, ध्यान पुजापाठ जस्ता कुरामा मन लगाउदा, रिस र आक्रोश पोख्न पाउँदा मन खोलि रुन पाउँदा, सकरात्मक सोच राख्दा आफ्नो ध्यानलाई रमाइलो कुरामा मोडदा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यताले समस्या कम हुँदै जान्छ ।

कोरोनाको असरले ल्याउन सक्ने मानसिक समस्या :
१. एन्जाईटी – विभिन्न किसिमका डर , चिन्ता जन्य समस्याहरु ।
२. डिप्रेसन – दिक्दारिपन तथा आत्महत्याको सोचाई वा प्रयास
३. मानसिक आघात – पिडादायिक घटना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।
४. प्यानिक अट्याक – एक्कासि बिना कारण उत्पन्न हुने अत्याधिक त्रास ।
५. समायोजनको समस्या – परिस्थितिसँग जुझ्न नसकिरहेको अबस्था ।
६. अब्सेसिभ कम्पल्सिभ डिसअडर्स – एउटै सोच वा बिचार आईरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहोर्‍याई रहने मानसिक रोग ।
७. जाँड रक्सि , लागू प्रदार्थको लत ।
८. कन्भर्सन डिसअडर्स – डर, त्रास , तनाबको कारणले देखिने मनोबैज्ञानिक समस्या ।
९. एक्युट स्टेस डिसअडर्स – तत्कालै देखा पर्ने तनाब जन्य समस्या ।
१०. सामाजिक संजालको लत
प्राथमिक मन‍ोबैज्ञानिक सहयोग कसरी गर्ने ?

आफु र अरुलाई हानीनोक्सानी नपुग्ने गरि आफुले सकेको सहयोग एकले अर्कालाई गर्न सक्छौ । प्राथमिक मनोबैज्ञानिक सहयोगको हकमा भने यसको सामान्य ज्ञान वा तालिम लिएको जो सुकै ब्यक्तिले यस्तो सहयोग गर्न सक्छन। यो सेवा गर्न मनोविद , मनोचिकित्सक , मनोपरामर्शदाता नै चाहिन्छ भन्ने होइन ।

१ कोरोनाको संक्रमण र यसबाट बच्ने उपायबारे भरपर्दो , सत्य तथ्य सुचना तथा जानकारी गराउने ।
२ शारिरिक तथा भावनात्मक सुरक्षाको पुर्ण प्रत्याभुति गराउने।
३. आबस्यकता बस्तुहरु पहिचान गरि सोही अनुरुप परिपुर्ति गर्न सहय‍ोग गर्ने , सो सहयोगका लागि पहल गर्ने , सहयोगका लागि सहजिकरण वा समन्वय गर्ने ।
४ . अर्काको भवनाको कदर गर्ने ,भाबनात्मक रुपमा सधै नजिक रहने । मानिसहरु बिच सम्मानजनक र भेदभाव रहित सम्बन्धको स्थापना गर्न मद्दत पुर्‍याउने ।

प्रतिक्रिया दिनुहोस्