बहुमतीय सरकारको सम्भावना टरेपछि बुढानिलकण्ठबाट निराश हुँदै फर्के प्रचण्ड



काठमाडौं।कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निराश भएर फर्किएका छन्।

संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा दलको समर्थनमा सरकार गठन गर्न तम्सिएका देउवा र दाहाल बहुमत नपुग्ने भएपछि निराश भएर बाहिरएका हुन्।

देउवा दाहालको भेटपछि कांग्रेसका एक नेताले भने, ‘हामीले कोसिस गरिरहेकै छौँ। तर बहमुत पुग्ने अवस्थामा देखिएको छैन। यस्तो अवस्थामा कसरी दाबी गर्नु? अझै छलफलमै छौँ, ठेगान छैन।।’

जसपाको महन्थ ठाकुर पक्षलाई अनेक प्रयत्न गर्दा पनि विश्वासमा लिन नसकेपछि कांग्रेस, माओवादी र जसापको उपेन्द्र यादव पक्षमा जम्मा १२४ जना मात्रै सांसद हुने भएका छन्।

बहुमतका लागि १३६ जना चाहिने भए पनि ठाकुरले आफूनिकट १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेपछि ७६ (२) अनुसारको सरकार बनाउने देउवा दाहालको योजना विफल भएको हो।

एमालेको माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर तत्काल कायम रहेको संख्या घटाउन आशमा रहेपछि उक्त समूहको राजीनामा समेत अनिश्चित बनेको छ।

नेपाल पक्षलाई राजीनामाबाट रोक्ने अध्यक्ष ओलीले प्रयत्न गरिरहेको र राजीनामाको विषयमा नेपाल समूहभित्र मतभेद रहेको छ। गठबन्धन सरकार दाबी गर्न राष्टपति दिएको तीन दिनको समय बिहीबार राति ९ बजे सकिँदैछ।

उता जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षीय सांसदहरू भक्तपुरको एक रिसोर्टमा भेला भएका छन् ।

बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन केही घण्टा बाँकी रहँदा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूपक्षीय सांसदहरूलाई रिसोर्टमा भेला गरेका हुन् ।महतोनिकट जसपा सांसद प्रमोदकुमार साहले वैकल्पिक सरकार निर्माणको पक्षमा नरहेका १९ सांसद एकसाथ रहेको दाबी गरे ।

‘हामीसँग १९ जना सांसदहरू हुनुहुन्छ जो वैकल्पिक सरकार निर्माणको पक्षमा हुनुहुन्न,’ साहले भने, ‘१९ जनामध्ये तीनजना सांसदहरू केही विशेष कारणले अहिले यहाँ उपस्थित हुनुभएको छैन, तर उहाँहरूले हस्ताक्षर गरेर तटस्थ बस्ने बताइसक्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्