कोरोना संक्रमितका लागि नेपाली सेनाले बनायो ८० शय्याको आइसोलेसन

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वसुन्धरामा सञ्चालन हुन लागेको राधा स्वामी कोभिड आइसोलेन तथा अक्सिजन थेरापी सेन्टरको निरीक्षण गरेका छन् ।

निरीक्षणकै क्रममा उनले काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र मुख्यसचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेसन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन आग्रह गरे ।
उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसै साताबाट नेपाली सेनाले आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित सञ्चालन हुन लागेको यो आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।
आवश्यकताअनुसार २ सय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइसोलेसन केन्द्रमा चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेट व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मा लिएको छ ।
यो आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ । काठमाडौंमा उपलब्ध ठूला भवनलाई आइसोलेसन केन्द्रका रूपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार गर्ने सोच बनाइएको सिसिएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले बताए ।
उनले बिरामीको उपचारमा लाग्न सेनालाई आग्रह गर्दै सरकारका तर्फबाट आवश्यक सम्पूणर् सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए ।उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिस्ट्रार महासेनानी डा. सुमनराज डंगोलले आइसोलेसन केन्द्रबारे जानकारी गराएका थिए । निरीक्षणका क्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोललगायतको सहभागिता थियो ।

