गठबन्धन सरकारको प्रधानमन्त्रीमा कांग्रेसको दावी

काठमाडौं।कांग्रेसले संविधानको धारा ७६ (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरूसँग गठबन्धन गरेर बहुमतसहित सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दाबी गर्ने भएको छ ।मंगलबार बुढानीलकण्ठस्थित देउवानिवासमा कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल पार्ने निर्णय सफल भएको समीक्षा गर्दै देउवाको नेतृत्वमा बहुमतको सरकारको दाबी गर्ने निर्णय गरको हो ।

‘राष्ट्रपतिले संविधानको धारा ७६ (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरू मिलेर बहुमतको प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रिया अघि बढाउनुभएको छ । हामी माओवादी केन्द्र र जसपाको सहयोगमा हामी दाबी गर्छौँ । त्यसका लागि आवश्यक समर्थन जुटाउन पार्टी सम्पूर्ण रूपमा लाग्छौँ,’ बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने ।
महतले सिंगो जसपाले एकढिक्का भएर निर्णय लिएर आउने प्रशस्त सम्भावना रहेको खुलाए । ‘माओवादी र कांग्रेस हामी एकै ठाउँमा छौँ, हामीबीचमा कुनै समस्या छैन । अब जसपाको कुरा हो । जसपाको एउटा समूह तयार छ, अर्को समूहसँग छलफल भइरहेको छ, हामीले सिंगो पार्टीकै निर्णय लिएर सम्पूर्ण रूपमा सामेल हुन आग्रह गरिरहेका छौँ, सिंगो जसपा आउन सक्ने प्रशस्त सम्भावना छ,’ उनले भने

