नयाँ सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिन समय दिएर नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन्।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई मिति २०७८।१।३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यूसमक्ष आफ्नो दावी पेस गर्न आह्वान गर्नुभएको छ।’
राष्ट्रपति कार्यालयको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७४।११।३ मा नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले धारा १०० को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव पारित हुन नसकेको भन्नेसमेतको व्यहोरा सभामुखकोपत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गठनका लागि आह्वान गरिएको उल्लेख छ।


