माधव नेपाल समूहले मलाइ अर्को मदन भण्डारी मानेर उत्साहित बनेका छन : प्रचण्ड

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा आफ्नो भूमिका देखेर पूर्व एमालेका नेता कार्यकर्ताले अर्को मदन भण्डारी भेटियो भनेर उत्साहित हुने गरेको बताए।

शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले सञ्चालन गरेको केन्द्रीय समिति बैठक र प्रशिक्षणलाई हेरेर पूर्व एमालेका नेता कार्यकर्ता उत्साहित हुने गरेको बताए।
उनले नेकपामा आफ्नो भूमिका बढ्दै गएपछि केपी शर्मा ओली आतंकित बनेको र देशी विदेशी प्रतिक्रियावादीसँग मिलेर पार्टी फुटाउने अभियानमा लागेको बताए।
‘केही पूर्व एमाले आएर भने–कमरेड तपाईंले केन्द्रीय समिति बैठक सञ्चालन गरेको पनि हेरियो, तपाईको प्रशिक्षण पनि सुनियो। हामीले मदन भण्डारी भेटियो। उहाँहरुको भावना त्यो थियो, अर्को मदन भण्डारी भेटियो भन्ने थियो’, अध्यक्ष प्रचण्डले भने, ‘यसबाट केपी ओली लगायतका दक्षिणपन्थी आतंकित भए। खाने भयो माओवादीले, लाने भयो प्रचण्डले भन्ने भएपछि देशिविदेशीसँग मिलेर प्रचण्ड र माओवादीलाई नसिध्याउने हो भने हाम्रो केही रहने भएन भनेर षड्यन्त्र र गुटबन्दीमा लागे। भित्री र गुदी कुरा यही हो।’
अध्यक्ष प्रचण्डले ओलीविरुद्ध मोर्चाबन्दी सुरु भएको बताए। उनले एमालेको एक समूह, जसपासँग मोर्चा हुने र कांग्रेससँग सरकारमा सहकार्य र चुनावमा तालमेल हुनसक्ने बताए।

