५ करोड लागतमा बन्दै हलेसी फनपार्क, मुख्यमन्त्री राईले गरे शिल्यान्यास



खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ । करिब ५ करोडको लागतमा वडा नम्बर ७ मा उक्त फनपार्क निर्माण हुने भएको हो । जसको शिलान्यास प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन ।

देश तथा बिदेशबाट हलेसी दर्शनका निम्ति आउने पर्यटकलाई आकर्षण गर्न उक्त फनपार्कको निर्माण गर्न लागिएको बताईएको छ । हलेसीमा बन्ने पार्कमा टायर गार्डेन, जंगल रिसोर्ट, पाईनापल गार्डेन, चिडियाघर, मिनि मार्केट, बेम्बो कटेज, नाटक गृह, रोधीघर, सेल्फीजोन र बोतल हाउस निर्माण गरिने फनपार्क निर्माता तथा पत्रकार अनुज खड्काले जानकारी दिएका हुन । देश तथा बिदेशबाट हलेसी दर्शनका निम्ति आउने दर्शनार्थीलाई घुम्नका लागि उपयुक्त मनोरन्जनस्थलका रुपमा फनपार्कको योजना अगाडि सारिएको खड्का बताउछन । उनी भन्छन “मानिसहरू टाढा-टाढाबाट हलेसी दर्शनका निम्ति पैसा खर्च गरेर आउछन । तर मन्दिर दर्शन बाहेक रिफ्रेसमेन्टको अन्य कुनै बिकल्प उपलब्ध छैन । त्यसैले हामीले यो फनपार्क बनाउन लागेका हौ ।”
फनपार्कमा पर्यटकहरूको मनोरञ्जनका निम्ति विभिन्न भौतिक संरचना निर्माण गरिने बताईएको छ । जसमध्य रुखमाथी निर्माण गरिएको ट्री हाउस, बासबाट बन्ने हवाइजहाज, बस तथा अन्य सामाग्री, फोटो खिच्नका निम्ति आकर्षक कलाकृती, पुराना टायरहरूद्वारा निर्माण गरिने टायर गार्डेन, बियरका खाली सिसि प्रयोग गरेर निर्माण गरिने आकर्षक घर टहरा रहनेछन । त्यसका अलावा नेपालमा थोरै मात्र पाईने र बिश्वभरबाट संकलन गरिएका पन्छीहरूको संग्राहलय पनि यस पार्कमा रहने निर्माता खड्का बताउछन ।

रुखमा झुन्डिएको चराको गुड आकृतिको मान्छे बस्न मिल्ने टहरा, उत्पादन पनि दिने र आकर्षक पनि देखिने पाईनापल(भुईकटहर) तथा घिउकुमारीको गार्डेन र विभिन्न प्रजातिका फूलबारी निर्माण गर्ने उदेश्यले काम सुरु भएको अर्का निर्माता निरजमानसिंह बस्नेतले जानकारी दिनुभयो । पार्क निर्माणका लागि अहिले ४ जनाको मात्र टिम बनाएर काम गरिरहेको भएपनी यसमा १० देखि १५ जना युवाको टिम रहने बताईएको छ । उक्त टिममा सकेसम्म खोटाङका उर्जाशिल युवालाई प्राथमिकता दिने समेत निर्माण पक्षले जनाएको छ । यदि स्थानियले यसमा लगानी गर्न नचाहेको खण्डमा मात्रै यो योजनामा बाहिरी जिल्लाका लगानीकर्तालाई अवसर दिईने बताईएको छ । सामुहिक लगानीबाट एउटा आकर्षक पर्यटन गन्तब्यको निर्माण गर्न लागिएकाले ईच्छुक युवा यस कार्यमा संलघन हुन सक्ने बस्नेतको भनाई छ ।

हलेसीमा निर्माण हुन लागेको हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्कको शिलान्यास गर्दै मुख्यमन्त्री राईले देशको बिकासमा पर्यटनको ठूलो भुमिका रहने र पर्यटनको बिकासमा स्थानिय युवा अगाडि आउनुपर्ने बताउनुभयो । हलेसीमा केही युवाको सकृयतामा बन्न लागेको यस पार्कले सिङ्गो समाज र देशलाई नै सामुहिक लगानीको एउटा उदाहरण प्रस्तुत गरेको उनको धारणा छ । युवा एकजुट भएमा असम्भब केहि नभएको पनि मुख्यमन्त्री राईले बताएका छन ।

सरकारले निजि क्षेत्रलाई समेत प्रोत्साहित गर्दै समृद्धिको लक्ष्य हासिल गर्न लागिपरेकाले युवाहरूले यसमा हातेमालो गर्नुपर्ने खोटाङ जिल्लाका प्रतिनिधि सभा सदस्य एबम नेकपा एमाले मुख्य सचेतक विशाल भट्टराईले बताउनुभयो । हलेसी फनपार्कले सरकारको नीति, नियम र दायराभित्र रहेर समयमै निर्माण सम्पन्न गरि हलेसी आउने पर्यटकलाई सेवा दिन सकोस भनी भट्टराईले शुभकामना समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस्