लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि कांग्रेस,माओवादी केन्द्र र जसपाको हस्ताक्षर

बुटवल । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेबाहेकका तीन दलले हस्ताक्षर संकलन सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यले हस्ताक्षर संकलन गरेका हुन् ।

स्रोतका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर गरिसकेका छन् । जसपाका तीन जनाको हस्ताक्षर भएको र तीन जनाको बाँकी रहेको बताइएको छ ।
यसअघि गणितमा मात्र सीमित रहेको खेल सोमबारको प्रदेशसभा बैठककै बीचमा अविश्वास प्रस्ताव दर्ता गर्ने प्रक्रिया सुरु भएको हो । ६ प्रदेशसभा सदस्य रहेको जसपाको केन्द्रमा देखिएको विवादले प्रदेशमा पनि असर गरेको छ । स्रोतका अनुसार जसपाका ६ मध्ये तीन जनाले हस्ताक्षर गरेका छन् । बाँकी तीन जनाको पनि हस्ताक्षर गराउने प्रयास भइरहेको जसपाकै प्रदेशसभा सदस्यले बताए ।
८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् । मुख्यमन्त्री शंकर पोखरेललाइ सरकार जोगाउन ४४ मत आवश्यक पर्छ । एमालेकै दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहमा छन् । माओवादीका दुई जना प्रदेशसभा सदस्यले माओवादी दल परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन् । अर्को दल प्रवेश गरेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रको संसदीय दल र पार्टीले पनि कारबाही गर्दै कारबाही गरेको जानकारी प्रदेशसभामा दर्ता गरिसकेको छ ।
एमाले प्रवेश गरेका दुई जना प्रदेशसभा सदस्यलाई कारबाहीको सिफारिस भएसँगै लुम्बिनी प्रदेश सरकार परिवर्तनको खेल पनि सुरु भएको हो ।

