नेपाली मूलका बर्मिज जनताको जीवन रक्षाका लागि कदम चाल्न डेमोक्रेट युनियनको आग्रह



काठमाडौं।नेपाल डेमोक्रेट युनियनले वर्मामा लोकतान्त्रिक सरकारको पुनर्बहालीका निम्ति र विशेषतः त्यहाँ रहेका नेपाली मूलका दाजुभाई, दिदी बहिनीहरुको जीउ–ज्यान तथा सम्पत्तिको रक्षा र तिनको लोकतान्त्रिक अधिकार एवं मानव अधिकारको सुरक्षाका लागि यथोचित कदम गम्भीरताका साथ चाल्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

म्यानमारमा बन्दूकको बलमा जननिर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको अवैधानिक सैनिक सरकारले लोकतन्त्र र मानव अधिकारको पुनर्बहालीका लागि प्रदर्शन गरिरहेका म्यानमारका जनताको दिन–प्रतिदिन हत्या भईरहेको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै युनियनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको अध्यक्ष सिद्धार्थ गौतमले बताए ।

बर्मेली प्रजातान्त्रिक आन्दोलनको क्रममा ६०० भन्दा बढी शहिद भएका छन् जो फालेन स्टारर्सको रुपमा सधैँ सम्झनामा रहि रहने बताउंदै युनियनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ-यस प्रकारको जघन्य अपराधिक सैन्य कार्यवाहीको भत्र्सना गर्नुपर्दछ । यस जघन्य अपराधले नेपाल डेमोक्रेट युनियनलाई गहिरो चोट पु-याएको छ । वर्माको जघन्य सैन्य कू को खिलाफमा तत्काल संयुक्त राष्ट्र संघसँग एउटा आपातकालीन सम्मेलन बोलाउन पनि एनडीयु आग्रह गर्दछ । यतिको मान्छे मार्दै सैनिक प्रमुख मिन आंग लाइंग र तिनका जनरलहरुले रातभरी पार्टी गरिरहेका हुन्छन् । वर्मालाई दोस्रो तिब्बत हांगकांग बन्नु दिनु हुदैन ।
लाखाँै नेपालीको बसोबास भएको म्यानमारमा सैनिक सरकारले मच्चाएको यस वितण्डाबाट नेपाली समुदाय समेत पीडित बनेको छ र हजारौं नेपाली म्यानमार छोडेर बाहिरिदैछन्, जो नेपाली मात्रका लागि थप चिन्तित र क्रुद्ध बनाउने घटना हो ।

नेपाल डेमोक्रेट युुनियन यस घटनाको तीव्र निन्दा गर्दै सेनाद्वारा नजरबन्द गरिएकी जननिर्वाचित लोकतन्त्रवादी नेत्री आङ सान सुचीको तत्काल रिहाइ, उनको पार्टी एनएलडी माथीको प्रतिबन्ध फुकुवा र म्यानमारमा तत्काल प्रजातन्त्रको पुनर्बहालीको माग गर्दछ । वर्मेली सेनाद्वारा भइरहेको यो सत्ताकब्जा, दमन र नरहत्याका पछाडि कम्युनिष्ट चीनको ‘मास्टर माइन्ड’ रहेको बारे विश्व समुदाय अवगत भइसकेको वर्तमान अवस्थामा कुनैपनि लोकतन्त्रवादी सरकार चुप लागेर बस्न नहुने स्पष्ट नै छ ।

यस परिप्रेक्ष्यमा नेपाली जनताद्वारा निर्वाचित लोकतन्त्रिक गणतन्त्रवादी नेपालको सरकारले वर्मामा लोकतान्त्रिक सरकारको पुनर्बहालीका निम्ति र विशेषतः त्यहाँ रहेका नेपाली मूलका दाजुभाई, दिदी बहिनीहरुको जीउ–ज्यान तथा सम्पत्तिको रक्षा र तिनको लोकतान्त्रिक अधिकार एवं मानव अधिकारको सुरक्षाका लागि यथोचित कदम गम्भीरताका साथ तत्काल चालोस् भनी नेपाल डेमोवक्रेट युनियन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग आग्रह गर्दछ । साथै नेपाली जनता सदैव अधिनायकवादका विरोधमा रहेको र लोकतान्त्रिक मूल्य, मान्यता एवं अधिकार कुनै पनि हालतमा छोड्न नसक्ने तथ्यतर्फ अवगत गराउन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्