थुलुङ दुधकोशीमा विकासको गति देखेर विपक्षीको निद हरायोः अध्यक्ष राई



सोलुखुम्बु,१८ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र थुलुङ दूधकोशीका वडाहरुमा पार्टी कार्यालय स्थापनाको कामलाई तिब्रता दिएको छ ।

यसैक्रममा बुधबारमात्रै थुलुङ दूधकोशीको वडा नं. १ नेले बजारमा माओवादी केन्द्रको वडा कार्यालय उद्घाटन गरिएको छ । माओवादी केन्द्र केन्द्रीय सल्लाहकार कमिटी सदस्य तथा जिल्ला समन्वय समिति सोलुखुम्बुका उपप्रमुख धर्मराज वनको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र सोलुखुम्बु सचिवालय सदस्य एवं थुलुङ दूधकोशी गाउँपालिका प्रमुख असिम राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेले बजारमा १ नं. वडा कार्यालयको उद्घाटन गरिएको हो । गाउँपालिकाका अधिकांश वडामा पार्टी कार्यालय स्थापना गर्ने जिल्लाको पहिलो गाउँपालिका थुलुङ दूधकोशी बनेको छ ।

अहिलेसम्म गाउँपालिकाको वडा नं. ९, ४, ५,७ र ८ मा माओवादी केन्द्रले वडा कार्यालय स्थापना गरिसकेको जिल्ला सचिवालय सदस्य सुमन राईले रहस्य खबरलाई बताए । राईका अनुसार विहीबार वडा नं. २ काँगेल, शुक्रबार वडा नं. ३ पन्चन र शनिबार वडा नं. ६ मुक्लिमा माओवादी केन्द्रको कार्यालय स्थापना गर्ने कार्यक्रम तय गरिएको छ ।

वडा नं. १ नेलेमा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि बनले जनतासँगै बसेर जनतासँगकै छलफलका आधारमा जनताको समस्या समाधान गर्ने एकमात्र पार्टी माओवादी केन्द्र भएको बताउँदै आगामी दिनमा पनि यो पार्टीलाई अगाडि बढाउन जनताको सहयोग कायम रहने आशा व्यक्त गरे ।
कार्यक्रमका विशिष्ठ अतिथि थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष राईले विगतमा अन्य पार्टीले २०औं वर्षसम्म गर्न नसकेको काम आफू निर्वाचित भएपछि तिन वर्षमै सम्पन्न गरेको बताए । वडा नं. १ को नेले बजारलाई व्यापारिक ‘हब’का रुपमा विकास गर्ने आफ्नो योजना रहेको सुनाउँदै अध्यक्ष राईले थुलुङ दूधकोशीमा एकपछि अर्को गर्दै विकासले तिब्रता पाएको देखेर विपक्षीहरुको निध हराम हुन थालेको दाबी गरे । जिल्लाकै उदाहरणीय गाउँपालिकाको रुपमा थुलुङ दूधकोशीले आफ्नो पहिचान बनाउँदै गएपछि विपक्षीहरु निदाउन छोडिसके अध्यक्ष राईले भने,– ‘उहाँहरुलाई निदाउन पनि स्लिपिङ ट्याब्लेट खाएर सुत्नुपर्ने अवस्था छ ।’

जिल्ला सचिवालय सदस्य रामसंघर्ष किराँती, टेकबहादुर बस्नेत, बुद्धिराज राई, सुमन राई लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा वाईसिएलको वडा संयोजक र सचिव समेत तोकिएको छ । संयोजकको जिम्मेवारी जनक बस्नेतले पाएका छन् भने सचिव अष्टमान तामाङ रहेको बताइएको छ । यसैगरी अखिल नेपाल महिला संघ क्रान्तिकारी वडा कमिटीको संयोजकमा मन्जु कार्की र सचिवमा दिपा बस्नेतलाई जिम्मेवारी प्रदान गरिएको राईले बताए । कार्यक्रममा नेपाली काँग्रेस, एमालेलगायत विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई प्रमुख अतिथि वन र विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष राईले खादा माला लगाएर स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्