वरिष्ठ नेपाल-रावल ६ महिनाका लागि पार्टीबाट निष्कासित, भुसाल र पाण्डेसंग पुन: स्पष्टीकरण



काठमाडौं, १६ चैत ।नेकपा–एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको छ।

उनीहरुले यसअघि पार्टीलाई दिएको स्पष्टीकरण तथ्यहीन, गलत र भ्रामक भएको भनी सो कारबाही गरिएको पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताले बताए।

नेपाल र रावलले बिहीबार स्पष्टीकरण बुझाएका थिए।

पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय पनि गरिएको छ।

उनीहरुले तीन दिनभित्र स्पष्टीकरण किन नदिएको भनी सोध्न लागिएको ती नेताले बताए।

पार्टीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र स्थायी समिति सदस्य पाण्डेसँग स्पष्टीकरण माग गरेकोमा यसअघि नेपाल र रावलले मात्र स्पष्टीकरण बुझाएका थिए।

उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरित काम गरेको भनी स्पष्टीकरण माग गरेको थियो।

केन्द्रीय समितिको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले सोमबार चारजना नेताहरुको नाममा छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएका थिए।

तर, भुसाल र पाण्डेले भने व्यस्तताका कारण स्पष्टीकरण पत्र तयार गर्ने क्रममै रहेको र आफूहरुले पार्टीलाई स्पष्टीकरण नबुझाउने धारणा नरहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्