रहेनन् कांग्रेस नेता जोशी,पार्थिब शरीर सांढे ९ बजेदेखि १ बजेसम्म सानेपामा राखिने

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शुक्रबार राति साढे ८ बजे पूर्वमन्त्री जोशीको निधन भएको हो ।

गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
पूर्व उद्योग मन्त्रीसमेत रहनु भएका नेता जोशी काठमाडौँमा लोकप्रिय नेता हुनुहुन्थ्यो । ५७ वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।
विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी काठमाडौँ क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यसैबीच, जोशीको निधनपछि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अहिले बिहानका लागि बोलाईएको छ।जोशीको शवलाइ श्रद्धाञ्जलीका लागि बिहान ९:३० बजेदेखि १ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेसले जनाएको छ।
जोशीको निधनप्रति पार्टी सभापति शेर बहादुर देउवाले एक इमान्दार र निष्ठावान नेता गुमाएको भन्दै समवेदना प्रकट गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’
कांग्रेस नेता प्रकाशमान सिंहले पनि जोशीको निधनप्रति श्रद्धान्जली ब्यक्त गरेका छन्। उनले सामाजिक संजालमा लेखेका छन्,-दुखद समाचार । हामी सबैको प्रिय नवीन्द्र यो संसारमा रहेन । यो अप्रिय खबर कसरी सुनाउ र पनि, अलबिदा नबिन्द्र, हार्दिक श्रद्धाञ्जली।
त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेलले लेखेका छन्–
अत्यन्तै दुखद खबर ।
हार्दिक श्रद्धाञ्जली
नेपाली कांग्रेसका उदियमान नेता नविन्द्रराज जोशी अब हामी बीच रहनुभएन । आम जनताका ढुकढुकी लोकप्रिय नेता जोशीको निधनको खबरले मलाई मर्माहत बनाएको छ । नेपाली कांग्रेसका भरोसा योग्य नेता जोशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउदा म पीडा सहन नसक्ने अवस्थामा छु । यो दुखको घडिमा प्रिय नविन्द्रप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पुर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।

