माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्डकै निरन्तरता

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरता पाएका छन् । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि बसेको दलको पहिलो बैठकले एकता अघिकै पदाधिकारीलाई निरन्तरता दिने निर्णय गरेको हो।

दलको प्रमुख सचेतकमा पनि देव गुरुङले निरन्तरता पाएका छन् ।
‘सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा (माओवादी केन्द्र) संसदीय दलको पहिलो बैठक बस्यो । बैठकले अध्यक्ष कमरेड प्रचण्डलाई दलको नेता र देव गुरुङलाई प्रमुख सचेतकमा कायम राख्ने निर्णय गरेको छ,’ बैठकपछि नेता वर्षमान पुन अनन्तले जानकारी दिए ।
बैठकले राष्ट्रिय सभामा दलको नेताको प्रतिनिधिका रूपमा दिनानाथ शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको पनि बताए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन पनि आग्रह गरेको छ ।

