प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं, ३ चैत्र । सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभाको बैठकको अध्यक्षताका लागि ७ जना सांसद मनोनयन भएका छन् ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरू प्रस्ताव गरेका हुन् ।
सभामुख र उपसभामुखको अनुपस्थितिमा डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेले बैठकको अध्यक्षता गर्नेछन् ।
प्रतिनिधिसभा बैठक लामो समय सञ्चालन हुँदा सभामुखले बैठक शुरू गरेर यी सांसदहरूले बैठकको अध्यक्षता गर्न सक्छन् । हाल प्रतिनिधिसभा उपसभामुखविहीन छ । प्रतिनिधि सभाको अधिवेशन आह्वानको शुरूमै बैठकको अध्यक्षता गर्नेको नाम सभामुखले मनोनयन गर्ने परम्परा छ ।
मंगलवारको बैठकले दोस्रो संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक चैत्र ६ गते शुक्रवारसम्मको लागि स्थगित भएको छ ।

