झन्डै ३ हजार ८ सय केन्द्रीय सदस्य हटाउंदै नेकपा (माओवादी-केन्द्र)

काठमाडौँ,१ चैत ।नेकपा (माओवादी केन्द्र) ले चार हजारबाट घटाएर केन्द्रीय कमिटी २ सय सदस्यीय कायम गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आइतबारदेखि बसेको बैठकले २ सय केन्द्रीय सदस्य कायम गर्ने निर्णय गरेको हो । बैठकको शुरूमै अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी हाललाई २ सय नै कायम हुने जानकारी गराएको केन्द्रीय सदस्य युवराज चौलागाईंले बताए ।

०७५ जेठ ३ मा नेकपा एमालेसँग एकता गर्दा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटीमा माओवादीको भागमा २ सय केन्द्रीय सदस्य थिए । पार्टी एकताअघि माओवादी केन्द्रमा झन्डै ४ हजार सदस्यीय केन्द्रीय कमिटी थियो । आइतबारको केन्द्रीय कमिटी बैठकमा करिब १ सय ८५ जना सहभागी भएका थिए । एमालेसँगको एकतापछि ५ जना केन्द्रीय सदस्यको मृत्यु भएको र १० जना सदस्य अनुपस्थित रहेको उनले बताए ।
बैठकले एमालेतिर लागेका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साहलगायत नेताहरुका कारण पार्टीलाई खासै प्रभाव नपरेको निष्कर्ष निकालिएको छ । आइतबारको बैठकमा अध्यक्ष दाहालसहित १० जना नेताले धारणा राखेका छन् । बैठकमा पार्टीको नाम फेर्ने, वाम ध्रुविकरण लगायतका एजेन्डा तय भएका छन् ।

