प्रजातन्त्र स्थायी बनाउन कम्युनिस्टबिरुद्ध लड्नुपर्ने देउवाको भनाई



काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्धमा लड्नुपर्ने बेला भएको बताएका छन्। शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताए। कम्युनिष्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए।

‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले। अहिले ओली सरकारको कस्तो प्रजातान्त्रिक संस्कार नभएको पार्टी। कम्युनिष्ट एकदलीय सर्वसत्तावाद लागू गर्न चाहन्छ। झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो। हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउनु आवश्यक छ,’ उनले भने, ‘कसैले प्रजातन्त्रमाथि आक्रमण गर्न नसकोस्। सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेका हौँ हामीले। पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेका हौँ। अहिले पनि कम्युनिष्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ। प्रजातन्त्रको खिलापमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नु छ नेपालमा। त्यसका लागि एउटामात्रै पार्टी छ नेपालमा, नेपाली कांग्रेस पार्टी छ। अरु प्रजातन्त्रवादी पार्टी नै होइनन्।’

कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए। नेपाली कांग्रेसले लोभ र हतार गर्न नहुने भन्दै उनले परिस्थिति आइपर्‍यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पारे। उनले भने– ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ। हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन। परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन।’

प्रतिक्रिया दिनुहोस्