जसपाको निर्णय : सत्ता समीकरणबारे निर्णय गर्ने जिम्मा पाँच नेतालाई

काठमाडौं, २५ फाल्गुन ।जनता समाजवादी पार्टीको मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने जिम्मा शीर्ष पाँच नेतालाई दिएको छ ।

बैठकले संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राईलाई सो जिम्मेवारी दिएको हो।
एमाले र माओवादी केन्द्र पुनर्जीवित भएपछिको राजनीतिक अवस्थाबारे छलफलका लागि बसेको बैठक ६ घण्टाभन्दा बढी चलेको थियो। यो राजपा र समाजवादी पार्टी एकीकरण भएपछिको पहिलो बैठक हो ।
शीर्ष पाँच नेताको छलफलबाट ओली नेतृत्वको सरकारको विकल्प खोज्ने या उनकै नेतृत्वमा सरकार अघि बढाउने निर्णय हुने बताइएको छ ।
जसपाको प्रतिनिधिसभामा ३४ जना सांसद छन्। सो पार्टीले सहयोग गरेमा पहिलो ठूलो दल एमालेको सरकार बन्न सक्ने स्थिति छ ।

