नेपाल हाइड्रो पावर कम्पनीको १५% लाभांश घोषणा

काठमाडौं, २४ फागुन । नेपाल हाइड्रो पावर कम्पनीले सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनी लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६-०७७ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम चुक्तापुँजी २६ करोडको १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख बराबरको बोनस सेयर तथा ०.७८९५ प्रतिशतले हुन आउने २० लाख ५२ हजार ६३२ रुपैयाँ बराबरको कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको हो ।
सेयरधनीहरुले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश पाउनेछन् ।
साथै सञ्चालक समितिको २०७५ साल पुस ९ गते बसेको बैठकबाट आर्थिक वर्ष २०७४÷०७५ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय भएको तर विशेष कारणवश साधारण सभा हुन नसकेको र सोका लागि सेयर दाखिला खारेजी बन्द समेत नभएकाले उक्त ४ प्रतिशत समेत समावेश गरी कुल १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले चैत ३ गतेदेखि १७ गतेसम्म बुक क्लोज गर्नेछ ।

