ओलीबिरुद्द अबिश्वास प्रस्तावका लागि अहिले नै हतार गर्न नहुने देउवाको भनाइ

काठमाडौं,२१ फाल्गुन ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले अविश्वासको प्रस्तावमा हतारो नगर्ने अभिव्यक्ति दिएका छन् ।

शुक्रवार बसेको दलको बैठकमा सभापति देउवाले सबै पक्षसँग आफ्नो छलफल भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हतारो गर्न नहुने बताएका हुन् ।
‘संसदीय दलको बैठकमा अविश्वासको प्रस्ताव दर्ता गर्ने कि नगर्ने भन्नेबारेमा पर्याप्त छलफल भयो,’ कांग्रेस सांसद संजय गौतमले लोकान्तरसँग भने, ‘तर सभापति देउवाले यो विषयमा आफ्नो सबै पक्षहरूसँग छलफल भइरहेको बताउनु भयो । प्रधानमन्त्री पाइएला भनेर हतार हतारमा निर्णय गर्नुपर्ने कुनै कुरा छैन ।’
देउवाले ओली र प्रचण्ड-नेपाल कसरी अघि बढ्छन् त्यो हेर्नुपर्ने भन्दै संसदीय दलमा आफ्ना कुरा राखेका थिए ।’नेकपा फुटोस् भन्न त मिल्दैन,’ देउवाको भनाइ उदृत गर्दै सांसद गौतमले भने, ‘अहिलेसम्म नेकपा एउटै पार्टी भएको अवस्था छ । भोलि सर्वोच्चले के निर्णय गर्छ त्यो हेर्नुपर्छ । निर्वाचन आयोगले के निर्णय गर्छ, यी सबै परिस्थितिको गम्भीर र उचित मूल्यांकन नभइकन हामीले हतारोमा निर्णय गर्नुहुँदैन ।’

