पूर्बप्रमुख आयुक्तहरुलाइ नेकपा आधिकारिकताको हतारो

काठमाडौँ,२० फाल्गुन । निर्वाचन आयोगले नेकपाको विवाद निरूपण नगर्दा आयोगको स्वायत्तता र निर्णय क्षमतामै प्रश्न उठेको भन्दै पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले छिटो समाधान गर्न आग्रह गरेका छन् ।

पूर्वप्रमुख आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव र पूर्वकार्यवाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङले बुधबार संयुक्त विज्ञप्ति जारी गरी राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन आयोगलाई सुझाव दिएका हुन् । सत्तारूढ दल नेकपाभित्रको विवादलाई लिएर आयोगले गरेको कामप्रति उनीहरूको असन्तुष्टि छ । ‘राजनीतिक दलको विवाद निरूपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भीर बनाएको छ,’ विज्ञप्तिमा छ ।
आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्य तथा आयोगको आफ्नै साखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको अनुरोध छ । ‘प्रचलित कानुन र स्थापित नजिरहरूका आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौं,’ पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको विज्ञप्तिमा छ ।
पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएसँगै नेकपामा विभाजन आएको थियो । विघटनको निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ मा बदर गरिसकेको छ । सर्वोच्चकै आदेशअनुसार फागुन २३ मा प्रतिनिधिसभा बैठक आह्वान भइसक्दा पनि आयोगले नेकपाको विवादमा निर्णय दिन सकेको छैन ।

