नगरपालिकाले लियो अपर जुनबेँसी मिनि हाईड्रोपावर निर्माणको स्वामित्व

सोलुखुम्बु,१९ फाल्गुन ।लागत अनुमान अनुसार उपभोक्ता समितिले समयमै काम सम्पन्न गर्न नसकेपछि अलपत्र हुन लागेको २५० किलोवाटको अपर जुनबेँसी मिनि हाईड्रोपावरको निर्माण अब भने सम्पन्न हुनेमा स्थानीय आशाबादी बनेका छन।हाइड्रोपावर सन्चालनका लागि गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गर्ने गरी सोलु दुधकुण्ड नगरपालिकाले स्वामित्व ग्रहण गरेपछि स्थानीय आशावादी बनेका हुन।

बिल गेट्स फाउन्डेसन र तत्कालीन बेनी गाबिसबाट प्राप्त रकमबाट बेनी विद्युत उपभोक्ता समितिमार्फत २०७२ सालबाट काम अगाडि बढाइए पनि लामो समय अबरुद्ध सो आयोजना निर्माण सम्पन्न गर्न बैकल्पिक उर्जा प्रबर्दन केन्द्र र सोलुदुधकुण्ड नगरपालिकाबीच सम्झौता भएको छ ।सो सम्बन्धि सम्झौतामा सोलुदुधकुण्ड नगरपालिकाका तर्फबाट मेयर नाम्गेल जाङबु शेर्पा र बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
५ करोड ५५ लाख ५० हजारको लागतमा निर्माण कार्य सुरु भई अलपत्र बनेको आयोजनाको बांकी काम बैकल्पिक उर्जा प्रवर्दन केन्द्रले गर्ने सो सम्झौताम उल्लेख छ। सम्झौता पत्रमा उल्लेख भए अनुसार नहर निर्माणको कार्य सकिएको तर सडकले क्षति पुर्याएको स्थानमा पुर्ननिर्माण गर्नुपर्ने छ ।
त्यस्तै, डिसिल्टिङ बेसीन र स्पिल वे निर्माण कार्य सम्पन्न भएको र बाँकी कार्यका लागि स्थानिय सरकारले लगत संकलन गरेको उल्लेख छ । हालसम्म पावर हाउस, मेसिन फाउण्डेसनको काम सकिएको र पावर हाउसको केही काम बाँकी रहेको छ । त्यस्तै आयोजनका विभिन्न कामलाई पुर्णता दिन बाँकी छ ।
उज्यालो नगरको अभियान लिएको नगरपालिकाले अलपत्र अप्पर जुनबेँसी मिनि हाईड्रोपवार निर्माण कार्यलाई तिब्रताका अघि बढाउन सम्झौता गरेको नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताए । नगरले ग्रामिण विद्युतिकरणलाई तिब्रता दिएको छ ।


