ज्योति लाइफ इन्स्योरेन्सको आइपियो शुक्रबारदेखि भर्न पाइने



काठमाडौं,१८ फाल्गुन ।ज्योति लाइफ इन्स्योरेन्सले आइपिओ निष्काशन मिति परिवर्तन गरेको छ । कम्पनीले यसअघि फागुन २३ गते आइतबारदेखि आइपिओ निष्काशन गर्ने तयारी गरेकोमा अब फागुन २१ गते शुक्रबारदेखि नै सेयर निष्काशन गर्ने भएको हो ।

आइतबारदेखि सेयर निष्काशन गर्दा सिडिएसको प्रणालीमा लोड भई इडिआइएस गर्न समस्या हुने देखिएपछि मिति परिवर्तन भएको हो । यस अघिका आइपिओ पनि शुक्रबार नै बिक्री खुला भएका थिए । सिडिएसले पछिल्लो समय आइपिओ बिक्री खुला शुक्रबारदेखि गर्ने र बाँडफाँट पनि शुक्रबार नै गर्ने अभ्यास थालेको छ ।

ज्योति लाइफले सय रुपैयाँ अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरूलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।

लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । फागुन २४ गते महिला दिवस र २२ गते शनिबारको सार्वजनिक बिदा परेकाले कम्पनीको आइपिओ कुल ६ दिन बिक्री खुला रहनेछ । आइपिओ निष्काशनका लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्