बैधानिक रूपमा काम गर्ने श्रमिकलाई मलेसियाले थप सुबिधा दिने



काठमाडौं । नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीका लागि प्रमुख रोजाइमा पर्छ । हाल मलेसियामा १४ लाखभन्दा धेरै वैधानिक रुपमा कामदार छन् । करिब तीन लाख अलेखबद्ध कामदार छन् । मलेसियाले वैधानिक रुपमा आफ्नो देशमा काम गर्ने श्रमिकका लागि थप सुविधा दिने भएको छ ।

मलेसिया सरकारले वैधानिक रुपमा आफ्नो देशमा काम गर्न आउने श्रमिकलाई सामाजिक सुरक्षाको योजनामा समावेश गर्ने भएको हो । नेपालमा सामाजिक सुरक्षाकोष भएजस्तै मलेसिया पनि त्यहाँको श्रम मन्त्रालयअन्तर्गतको सोसियल सेक्युरीटी अर्गनाइजेसन (सोक्सो) अन्तर्गत समावेश गर्न लागेको हो ।

सन् २०२० देखि नै त्यहाँको मन्त्रालयले कार्यविधि बनाएर वैधानिक रुपमा काम गर्ने आप्रवासीलाई सोक्सोमा समावेश गरेको हो । सोक्सोमा समावेश कामदारका हकमा रोजगारदाताले दिने मासिक तलबको १.२५ प्रतिशत रकम बुझाउनुपर्छ । रोजगार दाताले नै सामाजिक सुरक्षामा बुझाउनुपर्ने भएकाले श्रमिकले भने छुट्टै बुझाउनु पर्दैन ।

सामाजिक सुरक्षामा समावेश भएपछि कार्यालय समयमा श्रमिकको मृत्यु, अंगभंग वा बिरामी भयो भने सामाजिक सुरक्षा योजनाभित्र भएको पैसाले नै उपचार पाउने भएका हुन् । योजनाअनुसार कार्यालय समयमा श्रमिकको मृत्यु भए त्यहीं अन्त्येष्टि गर्ने हो भने अन्येष्टि गरेर दुई हजार रिंगिट मृतकका हकवालालाई पठाइदिन्छ । यदि त्यो नभए मृतकको शव आफैं देश पठाउन ६ हजार ५ सय रिंगिट सोक्सोले बेहोर्छ । यति मात्र होइन कार्यालय समयमा मृतकका हकदारले मासिक उसले पाउने तलबको ९० प्रतिशत तलब आजीवन पाउनेछन् ।

यो सम्झौता कार्यालय समयमा मात्र भएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बाह्रखरीलाई जानकारी दिए । बोर्डले वैधानिक रुपमा रहेका कामदार मलेसियमा रहुन्जेल उक्त योजनामा समावेश गर्न पहल गरिरहेको उनले जनाए ।

काम गर्दा गर्दै कुनै श्रमिक घाइते भएर आंशिक वा पूर्ण अपांगता भएमा समेत उपचार गर्ने पैसा सोक्सोले बेहोर्छ ।

प्रतिक्रिया दिनुहोस्