ताप्लेजुङमा भीषण आगलागी,१ सय २० पसल जलेर नष्ट



ताप्लेजुङ, १८ फाल्गुन ।ताप्लेजुङको मेरिङदेन गाउँपालिका अन्तर्गत दोभान बजारमा लागेको भीषण आगलागीबाट ५० घर जलेर नष्ट भएका छन् । आगलागीबाट ती घरमा रहेका करिब १ सय २० वटा पसलहरु जलेका स्थानीयले बताएका छन् ।

बस्तीमा लागेकाे आगो केही नियन्त्रणमा आए पनि बजारभन्दा माथिको भीरमासमेत आगाे लाग्नथालेपछि खतरा झनै बढेकाे प्रहरीले जनाएकाे छ । अहिले बजारकाे बीच भागमा रहेका घरहरु भत्काएर केही हदसम्म आगो नियन्त्रणमा ल्याइएको छ ।

स्थानीय भोला पौडेलको घरबाट विद्युत सर्ट भएर आगाे लाग्न सुरु भएकाे स्थानीय हरि काफ्लेले बताउनुभयो । आज बिहानदेखि लाग्न थालेकाे आगाे करिब १२ बजेदेखि केही हदसम्म नियन्त्रणमा लिइएकाे छ ।

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतकाे उपस्थितिमा आगाे नियन्त्रणमा लिने प्रयास भइरहेकाे छ । आगो भित्रभित्रै बलि रहेकाले अझै सल्कने सम्भावना रहेको प्रहरीले जानकारी दिएकाे छ।

दोभानमा करिब एक सय बढी घरहरु रहेका छन् । आगलागीबाट भएकाे नाेक्सानीकाे वास्तविक तथ्याङ्क आउन धरै समय लाग्ने जिल्ला प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्