सभापतिमा उम्मेदवारी आफ्नो रहर भन्दा पनि बाध्यता भएको सशांकको दावी
काठमाडौँ,५ फाल्गुन । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफूले सभापति पदमा दावेदारी दिने प्रस्ट पार्दै सभापति पदका लागि आफ्नो इच्छाभन्दा पनि बाध्यता रहेको बताएका छन् ।

आउँदो महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन भएमात्र पार्टी र मुलुकले निकास पाउँने बताउंदै महामन्त्री कोइरालाले लमहीको हसनापुरमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महाधिवेशनमा देउवालाई आफूबाहेक कसैले हराउन नसक्ने दावी समेत गरे।
‘शेरबहादुरजीलाई डाइरेक्ट अट्याक गर्न म चाहन्नँ तर साँच्चै भन्ने हो भने शेरबहादुरजीले पार्टी चलाउन सक्नुभएन,’ उनले भने, ‘उहाँले विभागहरु गठन गर्नुभयो ४ वर्षपछि, जबकि महाधिवेशनको मिति घोषणा गरेपछि उहाँलाई विभाग गठनको कुनै अधिकार छैन ।’
यस्तै उनले आगामी वैशाखमा प्रतिनिधिसभा चुनाव हुनै नसक्ने बताए ।

