बल्ल पायो सोलु काँग्रेसले कृयाशिल सदस्यता फारम

सोलुखुम्बु । आन्तरिक बिबादका कारण केन्द्रमै रोकिएको सोलुखुम्बु कांग्रेसको कृयाशील सदस्यता फारम बल्ल जिल्ला कार्य समितिलाई हस्तान्तरण गरिएको छ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको अग्रसरतामा कृयाशील सदस्यता फारम जिल्ला कार्यसमितिलाई हस्तान्तरण गरिएको कांग्रेस नेता प्रकाशसिंह कार्कीले जानकारी दिएका छन् । पार्टी १४ औं महाधिवेशनको संघारमा पुग्न लाग्दा समेत आन्तरिक विवादका कारण जिल्लामा कृयाशिल सदस्यता बितरण तथा नवीकरण कार्य हुन नसकेको भन्दै कार्कीसहित जिल्ला सभापति बिनोद बस्नेत,महासमिति सदस्य रामबहादुर बस्नेत,खिलराज बस्नेत लगायत नेताहरू आइतबार सभापति देउवा निबास बुढानिलकण्ठ पुगेका थिए।उनीहरू संगको छलफलपछि सभापति देउवाले कृयाशिल सदस्यता फारम हस्तान्तरणका लागि अग्रसरता लिएका हुन।
कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी र पूर्बसभापति आङगेलु शेर्पा समूहबीचको बिबादका कारण देशभर कृयाशिल बितरण तथा नवीकरणको कार्य अन्तिम चरणमा पुग्न लाग्दा समेत सोलु कांग्रेसको सदस्यता फारम केन्द्रमै थन्किएको थियो। १३ औं महाधिवेशनका क्रममा सम्पन्न जिल्ला अधिबेशनले चयन गरेका सभापति बस्नेतको बैधानिकतामा शेर्पा समूहले चुनौती दिएपछि सोलु कांग्रेसको बिबाद लम्बिंदै गएको थियो।यहि विवादका कारण जिल्लाको सदस्यता फारम केन्द्रमै अड्किएको कार्यकर्ताहरुको बुझाई छ।
सभापति देउवाको अग्रसरतामा कृयाशिल सदस्यता फाराम जिल्ला कार्यसमितिलाई हस्तान्तरण गरिएपछि कांग्रेस नेता कार्कीले जिल्लाभरीका सबै राम्रा र योग्यता पुगेका नेता तथा कार्यकर्ताहरुलाइ पूर्बाग्रहरहित ढंगबाट बितरण गर्नुपर्ने प्रतिक्रिया दिएका छन।
बिधान र नियमावलिमा कृयाशिलको बिषयमा भएको ब्यबस्था पुर्ण पालना गरि पारदर्शी रुपमा सदस्यता बितरण हुनुपर्ने बताउंदै कार्कीले जिल्लाका वडा,गाउँपालिका,प्रदेश तथा जिल्ला समितिहरुलाइ कृयाशिल फारम उत्साहजनक रुपमा सहभागी गराइ नयाँ भर्ने तथा नवीकरण गराउन समेत आग्रह गरेका छन।

