भारतसंग जोडिएका सुदुरपश्चिमका सबै नाका खुला



काठमाडौं, १६ माघ।नेपाल सरकारले सुदूरपश्चिमको भारतसँग जोडिएको बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा, पुलघाट नाका पूर्ण रुपमा खुल्ला गरिएको छ। ३० वटा भारतसँग जोडिएका सीमा नाका मध्य कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी सीमा नाका पहिले देखि आवतजावत भईरहेको थियो र शुक्रवारबाट झुलाघाट र खलङ्गा, पुलघाट नाका पूर्ण रुपमा खुलको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

उनले गौरीफन्टा नाका र गड्डाचौकी नाकाबाट पहिले नै नागरिकको आवतजावत हुने गरेको बताए। मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सो सीमा नाका खुला गरेको हो।

नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन्। तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ।

सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो।त्यसपछि बीचमा सीमा नाकाको आवागमनलाई केही सहज बनाइएकोे भएपनि भारतीय नागरिकलाई प्रवेश अनुमती दिइएको थिएन।

प्रतिक्रिया दिनुहोस्