नेपाल भ्रष्टाचार ब्याप्त मुलुकको १ सय १७ स्थानमा

१५ माघ, काठमाडौं । भ्रष्टाचारको बिरोधमा काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनलको करप्सन परसेप्सन इन्डेक्स (सीपीआई) मा नेपाल गतवर्ष भन्दा चार स्थान तल झरेको छ ।

अघिल्लो वर्ष १८० देशमध्ये ११३ औं स्थानमा रहेको नेपाल यो वर्ष भ्रष्टाचार व्याप्त मुलुकको ११७ औं स्थानमा पुगेको हो ।
यो वर्ष १०० पूर्णांकमा नेपालले ३३ अंक पाएको छ । गत वर्ष नेपालले पाएको अंक ३४ थियो । टान्सपरेन्सी इन्टरनेसनल, नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्ग स्थान भन्दा प्राप्त स्कोर महत्त्वपूर्ण भएको बताउँछिन् । ‘स्कोर ५० भन्दामाथि छ भने त्यो मुलुक भ्रष्टाचार व्याप्तमा पर्दैन’, उनी भन्छिन् ।
नेपाल सरकारले भ्रष्टाचार नियन्त्रणमा पर्याप्त प्रयास नगरेको ट्रान्सपरेन्सी इन्टरनेसनलको निश्कर्ष छ । बर्टेल्सम्यान फाउन्डेसनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि कतिको कारवाही हुन्छ र सरकारको भ्रष्टाचार नियन्त्रण प्रयास कति सफल छ भन्ने सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नभएको, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग भएको, पदाधिकारीमाथि कारवाहीमा कमी रहेको, व्यापार–व्यवसायमा घुसखोरी कायम रहेको सन्देश गएको प्रतिवेदनमा उल्लेख छ ।

