९४ करोड १२ लाख ५५ हजार रुपैयाँ खुद नाफामा नेपाल बंगलादेश बैंक



काठमाडौँ , १३ माघ। नेपाल बंगलादेश बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकले मंगलवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले ९४ करोड १२ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यस अवधिसम्मको तुलनामा बैंकले साढे १६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत बर्ष यस अवधिमा बैंकले ८० करोड ७७ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, गत वर्ष १ अर्ब १२ करोड ६२ लाख ९४ हजार सञ्चालन मुनाफा गरेको बैंकले यस वर्ष १ अर्ब ३३ करोड ९० लाख ५२ हजार रुपैयाँ मुनाफा गरेको छ । यो मुनाफा गत बर्षको तुलनामा करिब १९ प्रतिशतले बढी हो ।

यता समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ८ प्रतिशतले घटेको छ । यस बर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब २४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको जगेडा कोषमा ४ अर्ब ४६ करोड ९५ लाख ६८ हजार रुपैयाँ सञ्चित रहेको छ । रिटेन्ड अर्निङ्ग १ अर्ब ९ करोड ५४ लाख ६८ हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्ग ३०.१६ प्रतिशत र जगेडा कोषमा १९ प्रतिशत बढेको छ । यस अवधिमा बैंकले ७० अर्ब ८ करोड ९७ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो गत बर्षको सोही अवधिको तुलनामा साढे ५ प्रतिशत बढी हो ।

यस बर्ष बैंकले कर्जा प्रवाह समेत ३ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले ६० अर्ब ९२ करोड ६७ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको हो । पुस मसान्तसम्म शेयरधनीहरुलाई लाभांशको रुपमा वितरण गर्न सक्ने वितरणयोग्य नाफा ४६ करोड ७ लाख ७३ हजार रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब ४९ करोड ५८ लाख १४ हजार रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जाको अनुपात भने बढेको छ । गत आ.व. मा १.९२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस बर्ष बढेर २.३७ प्रतिशत पुगेको हो । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २२.१६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६५.५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्