आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने

काठमाडौं । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने जानकारी दिएको हो ।

तीन वटा विभागबाट सुरु गरिने सो कार्यक्रम चरणवद्ध रुपमा विस्तार गरिने गरि सरकारी र निजी क्षेत्रको समेत सहभागिता रहने विभागले जनाएको छ ।
भन्सार विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहरुमा डिजिटल प्रणालीको सुरुवात हुनेछ । लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ताहरु विभाग तथा कार्यालयहरुमा पुगिराख्नु पर्ने छैन भने सम्पूर्ण भन्सार कार्य पेपरलेस हुनेछन् ।
सोबारे चासो राख्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकद्वार प्रणाली सुरु भएपछि व्यापारका लागि सहजीकरण हुने, अनियमितता र राजस्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो व्यवस्था कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान दिन आवश्यक रहेको बताए ।
यता कृषि तथा पशुपंछि विकास पद्माकुमारी अर्यालले एकद्वार प्रणालीले सेवा प्रवाहलाई पारदर्शी बनाउने बताउँदै सो प्रणाली सबै निकायमा पूर्ण रुपमा लागू गरिने बताइन् ।
एकद्वार प्रणालीको विकास भएसँगै राजस्व परिचालनमा थप सहयोग पुर्याउने बताउँदै भन्सार विभागका महानिर्देशक सुमन दाहालले व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गरिने जानकारी दिए ।

