माओवादी केन्द्रको आयोजनामा राजनीतिक जन-परामर्श सम्मेलन माघ ३ गते

काठमाडौं / जनताको जनादेशलाई लत्याउँदै दुई तिहाई बहुमतको सरकारलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक कलहका कारण हठात असंवैधानिक तरिकाले संसद विघटनसँगै संसदीय व्यवस्था असफल सिद्ध भएको छ । यस्तो विषम परिस्थितिमा अबको राजनीतिक निकाश के हुनसक्छ भन्ने विषयमा नेकपा (माओवादी केन्द्र) को आयोजनामा पर्सि माघ ३ गते काठमाडौंको अनामनगर स्थित संवाद डबलीमा “राजनीतिक जन(परामर्श सम्मेलन“ हुने भएको छ ।

देशमा भर्खरै घटाएको राजनीतिक परिघटनाले देश र जनता अन्योलमय अवस्थामा रहेको बेला अबको राजनीतिक निकास के हुनसक्छ र ओली सरकारको दम्भका विरुद्ध देशलाई संकटबाट बचाउँदै अनिर्णयको बन्दी हुन नदिन सम्पूर्ण देशप्रेमी राजनीतिक दलहरुसँग राजनीतिक परामर्श र अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कुरा माओवादी केन्द्र निकट स्रोतले जानकारी दिएको छ ।
माओवादी केन्द्रका अनुसार उक्त राजनीतिक जन(परामर्श सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव पक्षधर, नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), जनता समाजवादी पार्टी लगायत देशका ठूला साना राजनीतिक दलहरुको सहभागिता रहने कुरा स्रोतले बताएको छ ।
माघ ३ गते बिहान ११ बजे संवाद डबलीमा हुने उक्त राजनीतिक अन्तरक्रिया र जन(परामर्श सम्मेलनले देशलाई वर्तमान अनिर्णयको बन्दीबाट मुक्त गराई एउटा राजनीतिक निकास दिनेमा आफुहरु विश्वस्त रहेको आयोजक पक्षले बताएको छ ।

