आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं । आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस देशभर पृथ्वी नारायण शाहको स्मरण गर्दै विभिन्न कार्यक्रमको आयोजना गरी मानाईंदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि सं १७७९ पुस २७ गते जन्मिएका नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण स्वरुप पुस २७ गतेका दिन पृथ्वी जयन्ती मनाउने गरिन्छ ।
बाइसे, चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका शााहले भौगोलिक रुपमा नेपाल एकीकरण गरेका थिए । उनलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । पुस २७ गते अर्थात आजकै दिन गोर्खामा जन्मेका शाहले आफ्नो शासनकालमा भुरे टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।

यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ ।
यसवर्ष पनि जनस्तरबाट भव्यताको साथ यो दिवस मनाईदै छ । पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारमाथि दबाब बढिरहेको छ । नागरिकस्तरबाट एकता दिवस मनाउन दबाब बढ्दै गए पनि लोकतन्त्रमा विश्वाश गर्ने सरकारले भने जनआकांक्षा सम्बोधन गर्न सकेको छैन । लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको भए पनि आज विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाइँदैछ ।

