नाफा कमाउंदै आयल निगम

काठमाडौं,१३ पुस।नेपाल आयल निगमले सार्वजनिक गरेको गएको आर्थिक वर्ष २०७६/०७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार झण्डै १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड नाफा कमाएको हो । प्रतिवेदनमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दानी बढेपछि निगमको नाफामा वृद्धि भएको हो ।

ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपीजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण गएको आर्थिक वर्ष २०७६/०७७ मा निगमको नाफा बढ्न पुगेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको छ ।
लामो समयदेखि घाटामा रहेको निगम पछिल्ला वर्षमा नाफामा गएको हो । निगमले गएको आव २०७२/०७३ मा १९ अर्ब ३६ करोड, आव २०७३/०७४ मा ९ अर्ब ४५ करोड, २०७४/०७५ मा तीन अर्ब ५८ करोड, २०७५/०७६ मा ८ अर्ब ७५ करोड र गएको आव २०७६/०७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ ।

