मेरो शेयरको एपमा ‘माइ आस्वा’ सेवा : अब एपबाटै शेयर भर्न सकिने



काठमाडौँ / अब मेरो शेयर एपबाटै शेयर भर्न सकिने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले मेरो शेयर एपमा माइ आस्वा सेवा थप गरेसँगै अब मोवाइलबाटै शेयर भर्न सकिने भएको हो । कम्पनीले मेरो शेयर प्रयोगकर्ताहरुलाई लक्षित गर्दै विकास गरेको मोवाइल एप परीक्षणको रुपमा एन्ड्रोइड अपरेटिङ सिस्टम बिटा भर्सनमा सञ्चालन गरिएको जनाएको छ । हाल उक्त एममा लगानीकर्ताहरुलाई सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन दिन सकिने सुविधा ‘माइ आस्वा’ थप गरी प्लेस्टोरमा अपेडट गरिसकेको कम्पनीको भनाई छ ।

भदौ ३१ गते सार्वजनिक गरिएको उक्त मोवाइल एपबाटै सार्वजनिक निष्कासन गरिएको शेयरमा आवेदन दिन सकिने भएको हो । सिडिएससीले लगानीकर्तालाई आफ्नो हितग्राही खातामा मौज्दान रहेको धितोपत्रको विवरण हेर्न, बजार मूल्यको आधारमा आफ्नो पोर्टफोलियो हेर्न, आफ्नो स्वामित्वमा रहेको लागतको भारित औसत गणना गर्ने लगायतका सुविधासहितको एप सञ्चालनमा ल्याएको हो । त्यस्तै, धितोपत्रको कारोबार पछिको राफसाफका लागि आफ्नो सम्बन्धित राफसाफ सदस्यलाई हस्तान्तरण गर्नका लागि विद्युतिय निर्देशन पूर्जी जारी गर्न तथा प्राथमिक बजारमा सार्वजनिक निष्कासन भएका शेयरमा आवेदन गर्न सक्ने सुविधा रहेको छ । यसले यसअघि सञ्चालन गर्दै आएको मेरो शेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री एवम् सहज रुपमा प्रयोग गर्ने उद्देश्य अनुरुप सोहि सफ्टवेयरको मोवाईल एप परीक्षणका लागि सञ्चालनमा ल्याइएको सिडिएससीले जनाएको छ ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनका अनुसार मेरो शेयरको वेब भर्जनमा रहेका सम्पूर्ण सुविधाहरु मोवाईल एपमा पनि उपलब्ध छ । उनले हातल परीक्षणको रुपमा सञ्चालन गरिएको भए पनि एप मार्फत गरिने सम्पूर्ण कारोबारहरु आधिकारिक हुने हुँदा होसियारी पूर्वक गर्न अनुरोध गरेका छन् । साथै कुनै समस्या देखिएमा वा कुनै सुझाव भएमा सिडिएसीलाई जानकारी गराउन समेत उनले अनुरोध गरेका छन् ।

उक्त मोवाईल एप हाल एन्ड्रोईड अपरेटिङ सिस्टममा मात्र उपलब्ध गराइएको र आगामी दिनमा आईओएस अपरेटिङ सिस्टममा पनि उपलब्ध गराइने सिडिएससीले जनाएको छ । मेरोशेयरको मोवाइल एप प्रयोग गर्दा कुनै समस्या देखिएमा तत्काल सो समस्याको स्क्रिनसटसमेत राखेर [email protected] मा इमेल पठाई जानकारी गराउनसमेत सिडिएससीको आग्रह छ ।

हाल मेरो शेयर नाम राखि विभिन्न अनाधिकृत एपहरु प्लेस्टोर तथा इन्टरनेटका अन्य ठेगानाहरुमा अपलोड गरेको जानकारी आएकाले गूगल प्लेस्टोरमा सम्बन्धित पब्लिसरको नाम सिडिएससी रहे नरहेको यकिन डाउनलोड गरेर एप परिवर्तन गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्