राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप



काठमाडौं,२२ मंसिर। सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ। मन्त्रिपरिषद्को यही मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद पुस १० गतेदेखि एक वर्ष थप गर्ने निर्णय गरेको हो। भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा ९३० बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको निर्णयमा उल्लेख छ। उसले अब असार मसान्तसम्म चालू वर्ष विनियोजित बजेटअन्तर्गतका कार्य कार्यान्वयन गर्नेछ। साउन १ देखि पुस १० गतेसम्म प्राधिकरणले निजी आवास, सिंहदरबार, रानीपोखरी एवं धरहरा पुनर्निर्माणसँग सम्बन्धित अन्तिम फस्र्याेटको कार्य गर्नुपर्नेछ। सो अवधिमा लेखा स्रेस्ता अद्यावधिक, लेखा परीक्षण गर्ने/गराउने तथा आफे जिम्मेवारी र सम्पत्ति हस्तान्तरण गर्ने कार्य पनि सम्पादन हुनेछन्। प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा असोज ५ गते बसेको बैठकले प्राधिकरणको कार्यावधि एक वर्ष थप गर्न सिफारिस गरेको थियो।

चालु वर्षको पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण भएको प्र्राधिकरणले जनाएको छ। त्यसैगरी, २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण सकिएको छ। प्राधिकरणको चालु वर्षको पहिलो चौमासिक (साउन–कात्तिक)को समीक्षा गर्दै लक्ष्यमा राखिएका बाँकी कामलाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। चार महिना अवधिमा ६ हजार ६ सय पुनर्निर्माण लाभग्राहीले दोस्रो किस्ता लिएका छन् भने ५ हजार १ सय १४ ले तेस्रो किस्ता। यसै अवधिमा थप ६ सय ८५ प्रवलीकरण लाभग्राहीले सम्झौता गरेका छन्। जसमध्ये ४ सय ५० ले पहिलो किस्ताबराबर ५० हजार रुपैयाँ बुझेका छन्। यो अवधिमा ११० जना लाभग्राही थपिएका छन् र पहिले नै लाभग्राही कायम भएकासमेत गरी १ हजार ३५० ले अनुदान सम्झौता गरेका छन्। समग्र पुनर्निर्माणमा ७ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ खर्च भएको समीक्षा बैठकमा जानकारी दिइएको छ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले सक्रिय रूपमा काम गर्ने अवधि साढे सात महिनाभन्दा कम रहेको उल्लेख गर्दै सम्पूर्ण प्रयास केन्द्रित गरेर तोकिएका लक्ष्य हासिल गर्न लाग्नुपर्नेमा जोड दिए। ज्ञवालीले निजी आवास अनुदानका किस्ता लिने अन्तिम समयसीमा किटान भएकाले घर बनाउन बाँकी रहेका लाभग्राहीसम्म पुगी घर निर्माण सुरु गर्न प्रोत्साहित गर्न पनि निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्