कुँवरले बांडे सय दृष्टिबिहिनलाइ राहत
काठमाडौं , ३ मंसिर । चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवर समाजसेवामा निरन्तर लागिरहेका छन् । उनले आफ्नो तर्फबाट मात्र होइन अरुसँग पनि सहकार्य गरेर राहत बाँडिरहेका छन् । कुँवरको सक्रियताले अरुलाई पनि राहत वितरणमा उत्साहित पनि बनाएको छ । उनले केही दिनअघि २६ औं चरणको राहत वितरण गरेका छन् । उनले पछिल्लो समयमा बौद्धको हायत होटल अगाडि एक सय जना दृष्टिविहीनलाई राहत वितरण गरेको जनाएका छन् ।

पूर्व प्रधान सेनापति रुक्मांगत कटवालको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको हो । समाजसेवाका हरेक क्षेत्रमा अगाडि बढ्दै आएका उनले कोरोना भाइरसका कारण भएको लकडाउनदेखि नै राहत स्वरुप चामल, दाल, चिनी, आलुलगायतका सामग्री वितरण गर्दै आएका छन् । पछिल्लो समयमा राहत वितरणलाई स्थगित गरेको भन्दै आएका उनले दृष्टिविहीनहरुमा ठूलो समस्या भएकाले राहत वितरण गर्नुपरेको बताए । उनले २६ औं चरणमा गरी १६ सय ५० जनालाई राहत उपलव्ध गराइसकेका छन् ।

लकडाउनमा उपत्यकामा रगतको अभाव हुन थालेपछि उनकै सक्रियतामा विभिन्न संघसंस्थाको सहयोगमा पाँच पटक रक्तदानको आयोजना पनि गरे, जसमा १ सय ६३ पाउण्ड रगत संकलन भएको थियो । अहिलेको कार्यक्रम हजुरलाई नमस्ते फाउण्डेसनले आयोजना गरेको हो, कुँवर नै फाउण्डेसनको अध्यक्ष हुन् । ‘अरु धेरै मानिस कोरोनाको डरले घरमै बसे तर मैले भनें सबैलाई सकेको सहयोग गरें, सेवा गर्न पाएकामा आत्मसन्तुष्टि मिलेको छ’ उनले भने ‘मैले लकडाउन र नाकाबन्दीमा घर भाडामा पनि छुट दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ।

