भारतीय स्थल सेनाध्यक्ष नेपाल आउंदै



काठमाडौं,११ कार्तिक । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे यही कार्तिक १९ देखि ३ दिने भ्रमणमका लागि नेपाल आउने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न यही उनी कात्तिक १९ देखि २१ गतेसम्म तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । नेपाल र भारतका सेनाध्यक्षले एकअर्काको देशका महारथी ग्रहण गर्ने यो परम्परा सन् १९५० देखि चल्दै आएको छ । भ्रमणकै क्रममा नेपाल र भारतबीचको सीमा विवाद र सुरक्षा चुनौतीका बिषय मुख्य एजेण्डा रहेको भारतीय अधिकारीले बताएका छन् ।

सेना प्रमुख नरावणेको भ्रमणले सीमामा देखिएको विवादपछि हिमालयन राष्ट्रसँगको सम्बन्धलाई पुन स्थापना गर्ने सम्बन्धमा महत्वपूर्ण कूटनीतिक सुरुवात हुने पनि अधिकारीहरुको अपेक्षा छ । भ्रमणका क्रममा नरावणेले समकक्षी नेपालका प्रधानसेनापती पूर्णचन्द्र थापा लगायत नेपालका शीर्ष नागरिक र सैन्य अधिकारीहरुसँग १८ सय किलोमिटर लामो सीमासहित दुई देशबीच देखिएका महत्वपूर्ण मुद्दाहरुमा विस्तृत वार्ता गर्ने बताइएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई लिएर दुई देशबीच सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतबाट सेनापति तहमा हुन लागेको पहिलो उच्चस्तरीय भ्रमणलाई महत्वपुर्णकासाथ हेरिएको छ । सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण गत बर्षको माघ २० गते तय भएकोमा कोराना भाइरसको महामारीका कारण स्थगीत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्