नेपाल राष्ट्र बैंकले ल्यायो गुनासो ब्यबस्थापन कार्यबिधि



काठमाडौं, १२ असोज ।ब्यांक तथा वित्तीय संस्थासँग कारोबार गर्ने ग्राहकहरूको गुनासो सुन्न नेपाल राष्ट्र ब्यांकले पहिलो पटक कार्यविधि बनाएको छ। राष्ट्र ब्यांकले सोमबार ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरेको हो।

वित्तीय ग्राहकको हित सरंक्षण गर्न, गुनासो सुनुवाइ गर्न तथा वित्तीय सेवा प्रवाहलाई पारदर्शी बनाउन यस्तो कार्यविधि जारी गरिएको हो। “ग्राहकको गुनासो व्यवस्थापनलाई प्रकृयावद्ध र पारदर्शी बनाउन यो कार्यविधि बनाइएको हो, अब ग्राहकको गुनासोसम्बन्धी अन्योल हट्नेछ,” राष्ट्र ब्यांकको ब्यांक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले भने।

ब्यांक तथा वित्तीय संस्थासँग कारोबार गर्ने ऋणी र निक्षेपकर्ताले यो कार्यविधिअनुसार अब राष्ट्र ब्यांकमा गुनासो बुझाउन सक्नेछन्। गुनासो सुनुवाइका लागि कार्यविधिले नेपाल राष्ट्र ब्यांकका वरिष्ठ डेपुटी गभर्नरको नेतृत्वमा गुनासो व्यवस्थापन समितिको व्यवस्था गरेको छ। यो समितिमा राष्ट्र ब्यांकका अर्का डेपुटी गभर्नर, ब्यांक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, अर्थ मन्त्रालयका सहसचिव, नेपाल ब्यांकर्स एशोसिएसनका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सदस्य रहनेछन्।कार्यविधिले कस्ता गुनासोहरूको कति समयमा र कुन प्रकृयाद्वारा सुनुवाइ हुने व्यवस्था गरेको छ। त्यस्तै, राष्ट्र ब्यांकमा गुनासो कसरी बुझाउने भन्ने निवेदनको ढाँचा पनि तयार गरिएको छ।

यो कार्यविधिपछि ब्यांक तथा वित्तीय संस्थाबाट ग्राहकलाई हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैरजिम्मेवारी, लापरवाही, झुठो, गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोबार आदिका विषयमा गुनासोको निवेदन दिन र त्यसको सुनुवाइ गर्न सजिलो भएको छ।

प्रतिक्रिया दिनुहोस्