एकै परिवारका ८ जनासहित मृत्यु हुनेको संख्या १० पुग्यो



काठमाडौं,८असोज। स्याङ्जा वालिङ् नगरपालिका १४ तमादीमा पहिरोले घर पुरिँदा बेपत्ता रहेकामध्ये थप ४ जनाको शव भेटिएको छ। योसँगै तमादीमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।

पछिल्लो पटक मृत भेटिनेमा १४ वर्षीय विक्रम नेपाली, १९ वर्षीया विनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली र ७ महिनाका एक बालक रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

यस अगाडि बिहान पहिरोमा पुरिएका २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीको शव निकालिएको थियो।

पहिरोमा परेर ४ महिला, ४ पुरुष र एक ७ महिने नाबालकको ज्यान गएको हो। तमादिमा पुरिएर ज्यान गुमाउने ८ जना एकाघरका हुन् भने उमाकला नेपाली पाहुना थिइन्। पुरिएको अवस्थामा जीवितै उद्धार गरिएकी १७ वर्षे मनिषा नेपालीको भने पोखरामा उपचार भइरहेको छ।

स्याङजामा तीनदिनदेखि बर्षा जारी छ। वर्षाका कारण पहिरो जादाँ कालीगण्डकी गाउँपालिका ४ गौतमडाँडामा जगतबहादुर दमै र बाबुराम दमैको घर भत्केको छ भने बाबुराम दमैका छोरा १८ वर्षीय कृष्ण दमैको मृत्यु भएको चक्र पाण्डेले जानकारी दिए। योसँगै बिहीबार बिहानको पहिराले घर पुरिँदा स्याङजामा ज्यान जानेको संख्या १० पुगेको छ।

तिनाउ नदीको बाढीले घर बगायो

नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१७ रानिगञ्जस्थित बल्कले बनाइएको प्रेमकुमारी खाम्चाको चार कोठा भएको घर बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए। ‘नदीमा पानीको बहाव बढ्दै गएपछि घरबाट धेरै सामान निकालिसकिएको थियो’, उनले भने, ‘नदीले घर बगाए पनि मानवीय क्षति भएको छैन।’ उनले अझै यही क्रममा वर्षा भइरहे सो क्षेत्रमा थप जोखिम बढ्ने बताए। वर्षाका कारण तिनाउ नदीमा पानीको बहाव बढेपछि बुटवलका केही क्षेत्रमा कटान सुरु भएको छ।

तिनाउ नदीले बिहानैदेखि सतर्कताको तह पार गरेको छ। ५.२ सतर्कताको तह रहेको तिनाउ नदीमा दिउँसो सवा २ बजे पानीको तह ५.७५ पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्