लघुकथा



दु:खद अन्त्य

सुवाश जमरकट्टेल
लामाे समय देखि मलाई पाल्दै आएकाे मेराे प्राणपालक र आर्थिक व्यभारकाे सारथि उहि थियाे । जहाँ जताबाट आएपनि मैले भन्दा पहिला सबै पैसा उसैले राख्थ्याे अनि आवश्यकता अनुसार खटाई खटाई मलाई दिन्थ्याे । मलाई केही किन्न मन लाग्याे कि उसैलाई सुम्सुम्याउन पुग्थे मेरा हातहरु । अनि उ मेरा अगाडि आएर मलाई हेर्दै पसलेकाे विल तिरिदिन्थ्याे । उ र म विचकाे माया निकै घनिष्ट नै थियाे जसकाे कारण म जहाँ जाँदा पनि उसलाई सँगै लिएर जान्थें ।

बैकका एटिएम कार्ड र चेकका लिप्टाहरु उसैले जतन गरेर राखेकाे हुन्थ्याे । बैकले समेत अरु कसैलाई नदिनु भनेकाे एटिएम म उसलाई निर्ढुक्क सँग दिन्थे जाे सँधै भरि उसैसँग हुन्थ्याे । एक दिनकाे कुरा हाे म काम विशेषले वेलघारी भन्ने ठाउँमा गएकाे थिएं । सदा झै उ पनि मसँगै गएकाे थियाे । दिनभर जसाे हामीसँगै घुम्याै, काम सक्याै र फर्किने बेलामा मैले चिसाे र खाजा खाँए विचरा उसले हेरिमात्र रहयाे केही खाएन अन्त्यमा मैले खाएकाे विल उसैले तिर्याे । हामी गन्तव्य तिर फर्क्याै । वर्षातकाे समय बाटाेमा पानी पर्न सुरु गर्याे ।

मैले पानिकाेट त बाेकेकै थिएं । दुबैले त्यहि एउटै काेट लगायाै/ ओड्याैं । पानीले भिजिन्छ, जाडाे हुन्छ भनेर उ मसँग लुपुक्क टाँसिएर बस्याे । बिच बाटाेमा जरायाेटार हटिया थियाे। चिसाे माैसम हटियाका सबै हाेटलमा चिया पिउनेकाे भिडभाड थियाे । मैले पनि चिया खाने निश्चित गरेर १ कप दूध चियाकाे अर्डर दिएं । त्यसपछि मेरा हातहरु उसलाई सुम्सुम्याउन पुगे । बढाे दुर्भाग्य उमेरले आफ्नाे जवानी ढलिसकेकाे मेराे सारथि पानिले निथ्रुक्क भिजेर सिकिस्त भइ सकेछ । उसलाई धाईते अवस्थामा नै बाेकेर म छिटाे छिटाे काेठा आई पुगें । उसकाे घाइते अवस्थाले मेराे मुटु ढक्क फुले झैं भएकाे थियाे । उसलाई रातै भरि बचाउने हर प्रयत्न गरें तर पनि विहान उठ्दा उ मसँग बस्नै नसक्ने भई सकेछ । खै केलाई हाे मरेपछि उपियाँले पनि छाेड्छ भनेझै मेराे पर्स पनि रुपियाँ राख्न नमिल्ने भयाे । सँधै उसैसँग बस्न रुचाउने एटिएम र रुपियाँले पनि उसलाई छाेडिसकेछन् ।

मैले पनि उसलाई गम्भीर मुद्रामा एकटकले निकैबेर हेरें अनि अन्तिम पटक उसँग बाँकि रहेका रुपियाँ र अरु कागजपत्र आफुसँग राखें, एक चुम्बन गरेर दुख साथ उसलाई डस्विनमा खसाएर नमस्कार गरि विदा मागें र म अर्काे मनिपर्स किन्न बजार तिर लागें ।
नेचा, साेलुखुम्बु

प्रतिक्रिया दिनुहोस्