कविता- भोकको गन्तव्य

प्रमोद भट्टराई ‘प्रतीक’

महामारीको त्रासमा
घरको सम्झना आयो
परिवारको अवस्थाले झस्कायो
देशको मायाँले सतायो
पटक्कै अडिन नमानेर
मुङ्लान पसेको मन रुयो
अनि दौडिएर घर आउँदै गर्दा
कैयौँ दिन सीमानामा छेकियो।
रगत र पसिना सँग साटेर
अलेली सञ्चय गरेको सामल
निख्रिएर बिखर्ची भए पछि
आफुले पटुकी कसे’नी
परिवारको भोक मेटाइदिन
लाचारीले धिक्कारे पछि
के गरोस् पनि विचरा
आफ्नो देश र शासकनै निरिह भएपछि।
रोग भन्दा भोकले
दिनानुदिन चुनौती दिएपछि
आशा र भरोसा गरेका ढोकाहरू
चारै तिर बन्द देखेपछि
उसले स्मरण गर्यो एकपल्ट
सुनेका दन्त्यकथाका हरफहरू
‘यहाँ भोकले कोही पनि मर्नु पर्देन’
तर राम्ररी बुझेको छ उसले
केवल आश्वासनले पेट भर्दैन।
आफ्नै रगत र पसिना सँग
परिवारको भोक साट्न
बाध्यताले घचेट्न थालेपछि
बरु विगतकै कमाईले दिएको
सन्तुष्टिले चिमोट्न थालेपछि
मन अडिएन मृत्युको सँघारमा
फेरि होमिदियो आफुलाई
महामारीको त्यही सन्सारमा।
परिवारका सबैको चेहराहरु
नजर लुकाई लुकाई नियाल्यो
मानौँ फेरि हेर्न पाउने अवसर
फर्केर आउँछ कि आउँदैन
उस्कै मनलाई थाहा हुँदैन
तर भोको पेटको लामो जिन्दगी भन्दा
अघाएको केहि पल उसलाई प्रिय थियो
अब त फर्किनका लागि पनि
नाकाका सबै ढोका खुला थियो।

