नेकपा अध्यक्ष दाहालका घरबेटी अधिकारीको ५ करोड जफत हुने



काठमाडौ, २१ भाद्र।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी सारदाप्रसाद अधिकारीको ५ करोड रुपैयाँ जफत हुने भएको छ।

सम्झौताअनुसार भाद्र २० गतेसम्म ल्याइ सक्नु पर्ने रासायनिक मल समयसीमा भित्र नल्याएपछि आइतबार बिहान बसेको कृषि सामग्री कम्पनी लिमिटेडको बैठकले प्रचण्डका घरबेटी अधिकारीको शैलुङ कन्स्ट्रक्सन र होमनाथ कोइरालाको होविको मल्टिपललाइ कालोसूचीमा राखी धरौटी जफत गर्न कृषि मन्त्रालयलाई सिफारिस गरेको हो। दुबै कम्पनिले मल खरिदका लागि ५/५ करोड धरौटी राखेका थिए।

यी दुई कम्पनीले लिमिटेडसँग भदौ २० गतेसम्ममा स्म्झौताअनुसार मल नेपाल भित्र्याइसक्नुपर्ने थियो। तर उनीहरुले मल ल्याउन म्याद थपको निवेदन दिएका छन्।

कृषि कम्पनीले ३ लाख ४ हजार ५ सय मेट्रिक टन मल आयात गर्न ७ कम्पनीलाई अनुमति दिएको थियो। जसमध्ये करिब साढे २ लाख टन मात्रै मल भित्रिएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले २ कम्पनीलाई कारबाहीको लागि गरिएको सिफारिस मन्त्रालयमा आएको बताए।भुसालले समयमा मल नल्याउने कम्पनीमाथि कारबाही गर्ने यसअघि नै प्रतिबद्धता व्यक्त गरिसकेका छन्। उनले सम्झौता अवधि सकिएपछि दुबै कम्पनीलाई कालोसूचीमा राखेर धरौटी जफत गर्ने बताइसकेका छन्।

ठेकेदारहरुले सम्झौताअनुसारको मल समयमै नल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग ५० हजार टन युरिया मल पैँचो दिन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्