गजल

*ओमप्रकाश भण्डारी

जानु पर्ने खोला पारी तरे पनि कर लाग्छ
बाँच्नलाइ मुस्किल भो मरे पनि कर लाग्छ।
पापि पेट भोकभोकै सकिएन बस्न पनि
खोलेफाँडो खाइ धोक्रो भरे पनि कर लाग्छ।
गरिबको ओठ माथि मरि सक्यो हाँसो जति
वेदनाले थोरैआँसु झरे पनि कर लाग्छ।
बाबुआमा थला परे छोराछोरी बिदेशमा
छाति चर्की थोरै फोन गरे पनि कर लाग्छ।
बाँच्नुपर्यो हातबाँधि पाइँदैन बस्न पनि
अलिकति एता- उता सरे पनि कर लाग्छ।
*नेचासल्यान-३,सोलुखुम्बु

