कुलमानको लोकप्रियताले सरकार निरीह !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार सांझ एकाएक भाइरल भए।उनी प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा अर्को कार्यकालका लागि नियुक्त भएको भन्दै सामाजिक सन्जाल प्रयोगकर्ताहरुले बधाईको ओइरो नै लगाए।तालुकदार उर्जा मन्त्रालयले यस बिषयमा मन्त्रीपरिषदमा कुनै प्रस्ताव नगएको स्पष्टीकरण नै दियो, र पनि बधाई दिनेहरू उत्साहमा कुनै कमी आएन।प्राधिकरणमा कुलमानको पुनर्नियुक्तिले उज्यालोमा बस्ने आफुहरुको चाहना पूरा भएको उनीहरूको सन्देशमा सन्निहित देखिन्थ्यो ।

अन्ततः पछि स्पस्ट भयो कि मंगलबार सांझ बसेको मन्त्रीपरिषद बैठकमा यो बिषयले प्रवेश नै पाएन। कार्यकारी निर्देशक घिसिङ स्वयंले पनि आफ्नो नाममा फेक आइडी खोलेर कसैले पुनर्नियुक्तिको हौवा फैलाएको भन्दै स्पष्टीकरण दिए।त्यसयता सामाजिक सन्जालमा अर्को कार्यकालका लागि पनि प्राधिकरणको महानिर्देशकमा कुलमान नै नियुक्त गर्नुपर्ने भन्दै अभियान नै चलाइएको छ।लाखौं सामाजिक सन्जाल प्रयोगकर्ताहरुको उज्यालोका लागि कुलमान अभियानले सरकार सांच्चिकै अप्ठ्यारोमा परेको छ।
महानिर्देशक घिसिङको कार्यकाल बदौको २९ गतेसम्ममात्रै बांकी हुंदा माफियाहरुले उनीबिरुद्द अनेकौं अफवाहहरु फैलाउने कोसिस गरिरहेका छन।भ्रष्टाचारसंग जोडेर उनको तेजोबोध गर्ने प्रयत्न यस अघि पनि नभएका होइनन् । तर कुलमानले गरेका सकारात्मक कामहरूलाई नजिकबाट महसुस गरिरहेका आम देशबासीहरुको जनदबाबका कारण माफियाहरु पटकपटक पछि हटने गरेका छन।मुलुकलाई अन्धकारतर्फ धकेलेर आफुलाइ मालामाल बनाउन पल्केका माफियाहरु यतिबेला उनलाई जसरी पनि रोक्ने अभियान मा कृयाशिल छन।सरकारले कतै यिनै माफियाहरुको मतियार बनेर मुलुकलाई १८ घण्टे लोडसेडिङमा फर्काउने मनसाय बोकेकाहरुलाइ नै प्राधिकरणको नेतृत्व सुम्पने हो कि भन्ने चिन्ताले आम उपभोक्ताहरुलाइ पिरोलेको छ। यहि कारण पनि नेपाललाई निरन्तर उज्यालो बनाउने प्रयत्नमा आफुलाइ अब्बल साबित गरेका घिसिङलाई नै पुन जिम्मेवारी दिनुपर्नेमा निरन्तर दबाब सृजना गरिरहेका छन। निरन्तरको यो जनदबाबका कारण कुलमानका अघि सरकार निरीह जस्तै बन्न पुगेको छ।
हुन पनि नेतृत्वमा दृढ इच्छाशक्ति भयो भने असम्भव केही छैन भन्ने कुलमानले व्यबहारमै प्रमाणित गरेर देखाएका छन।१८ घण्टे लोडसेडिङको अन्त्य गरेर उपभोक्ता लाई निरन्तर उज्यालो दिनु र ४ वर्ष अघिसम्म ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण अहिले नाफामा मात्रै होइन पूर्वाधारमा समेत लगानी गर्न सक्ने बनाउनु प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको चानचुने सफलता होइन।
प्राधिकरणको ३५ औं वार्षिकोत्सवको अवसरमा घिसिङले बताए अनुसार आर्थिक वर्ष २०७६।७७ मा ११ अर्ब रुपैयाँ खुद नाफा गरेर विद्युतको पूर्वाधारमा लगानी गर्न सक्ने भएको छ।
उनका अनुसार आर्थिक वर्ष २०७२।७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ संचित घाटामा रहेको प्राधिकरण हाल ५ अर्ब संचित नाफा कमाउन सफल भएको छ। त्यस्तै विद्युत चुहावट पनि १० प्रतिशत हाराहारीले घटेको उनले बताए। आर्थिक वर्ष २०७२।७३मा २५ दशमलव ७८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६।७७ मा १५ दशमलव २७ प्रतिशतमा सीमित गर्न सफल भएको बताए। यसले प्राधिकणको वित्तिय सुधारमा सहयोग पुगेको उनले जानकारी दिए।
विद्युत खपतको रुपमा हेर्ने हो भने चार वर्ष अघिको तुलनामा विद्युतको पहुचनै २३ प्रतिशतले बढेको छ। प्रतिव्यक्ति वार्षिक विद्युत खपत त्यो समयमा १ सय ३१ युनिट रहेकोमा अहिले २ सय ६० युनिट पुगको छ।
त्यस्तै, आर्थिक वर्ष २०७२।७३ सम्ममा ६६ केभी र सो भन्दा माथिएका प्रसारण लाइन लम्बाइ २ हजार ९ सय ११ सर्किट किलोमिटर पुगेकोमा आर्थिक वर्ष २०७६।७७ सम्ममा करिव ४ हजार २ सय ७५ सर्किट किलोमिटर पुगेको छ। यो करिव ४७ प्रतिशतले बढि हो। ग्रीड सबस्टेशनहरुको क्षमता करिव २ हजार २ सय २३ एमभीए थिया भने अहिले यो क्षमता ४ हजार १ सय ६१ एमभीए रहेको उनले जानकारी दिए।
अन्तरदेशीय प्रसारण आर्थिक वर्ष २०७२।७३ सम्ममा नेपाल भारतबीच करिव ३ सय ५० मेगावाट विद्युत प्रवाह हुन सक्क्ने अन्तरदेशीय प्रसारण संरचना रहेकोमा अहिले प्रसारण क्षमता वृद्धि भई १५०० मेगावाट पुगेको छ। बुटलव गोरखपुर, मौनहिया सम्पतिया, इनरुवा पूर्णिया, लम्की बरेली, कोहलपुर उत्तरप्रदेश निर्माण विभिन्न चरणमा छन्।
नेपाल र चीनबीच पनि रातमाटे रसुवागढी केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको लागि प्राधिकरण र स्टेट ग्रीड चाइनाबीच समझदारी पत्रमा हस्ताक्षर भइ नेपालतिरको लाइनको संभाव्यता अध्ययन पुरा भएको उनले जानकारी दिए।
संस्थागत सुशासनको कुरा गर्दा सूचना विधी मार्गचित्रलाई प्रभावकारी रुपमा कार्यन्वयनमा ल्याई डिजिटल एनईए अवधारणअनुरुप प्राधिकरणको हरेक कार्यक्रमलाई डिजिटल प्रविधिमा रुपान्तरण गरिने उनले बताए। प्राधिकरण समय र परिस्थितिको माग अनुसार संगठन संरचनालाई पुनःसंरचना गर्दै आफ्नो व्यवसायलाई अझ प्रभावकारी र सेवामुलक बनाएको उनले दावी गरे।
यस्तै, कोरोनाको अवस्थामा समेत कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराएर काम गराइएको उनले जानाकारी दिए। कर्मचारीको आलोपालो प्रणालीमा काम गर्ने वातावरण मिलाइएको र सबै कर्मचारीको कोरोना बीमासमेत गरेको उनले जानकारी दिए।

