फिल्डमा खटिने सन्चारकर्मीहरुको नि:शुल्क पीसीआर परिक्षण गर्न पत्रकार महासंघको माग

काठमाडौं,९भदौ। नेपाल पत्रकार महासंघले विश्वव्यापी रुपमा फैलिएको कोभिड – १९ महामारीमा अग्रभागमा रहेर फिल्डमा काम गरिरहेका सन्चारकर्मीहरुको नि:शुल्क पीसीआर परीक्षणको ब्यबस्था गर्न माग गरेको छ।

हालसम्म कम्तिमा तीन दर्जन सन्चारकर्मीहरु कोरिना संक्रमण भइ सकेको उल्लेख गर्दै महासंघका महासचिव रमेश बिष्टद्वारा सोमबार जारी बिज्ञप्तिमा सो माग गरिएको हो। यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेको भन्दै महासचिव बिष्टद्वारा जारी बिज्ञप्तिमा अगाडी भनिएको छ,- संक्रमणको दर वृद्धि भएसंगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा समेत संक्रमण देखिने क्रम बढेको छ । हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् ।
विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् । नेपाल पत्रकार महासंघ संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गर्दछ ।
साथै, महामारीको यो समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघ आम सञ्चारकर्मिहरुमा अपिल गर्दछ । सञ्चार प्रतिष्ठानहरूले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघ आग्रह गर्दछ ।

