हो आजकै दिन

अरुण घिसिङ

छितिज पारीको स्वर्णिम युगको
कल्पनामा डुबेर
ज्यानकै कुर्वानीको
होड्बाजि मारेर
त्यो सुन्दर
अनि कल्कलाउँदो
विहानीको सुर्यको किरण झै झुल्किने
सपना साँचेको
हो आजकै दिन !
श्रमिकको खुन लुटेको दिन
मजदुरको पसिना चुसेको दिन
भरियाहरुको नाम्लो खोसिएको दिन
गोठालाको गाँस कटाएको दिन
निशाचर रात सङ्गै लुट्पुटिएर
पुर्णिामाको जुनको टह टह मनभरि साँचेर
सुन्दर सपना साँच्दै
बैरिहरुको विरुद्ध
हुङ्कार छेड्न लाम लाग्दै रगताम्य
बाटोमा पाइला चालेको
हो आजकै दिन !!
जुत्ता बनाउनेहरुको खालि खुट्टा भएको दिन
कपडा सिलाउनेहरुको आङ खालि भएको दिन
हँसिया र कचिँया बनाउनेहरुको पुर्पुरोमा
युगकै बोझिलो भारीले थिलो थिलो पारेको दिन
शताब्दीकै दुर्भाग्य विरुद्ध
रक्तबिजमा तैरियर
नविन युगको संकल्प गरेर
महासमरमा मृत्युसँग जिवन खोज्दै
वलिदानको कोटा चुक्ता गर्न
लाम लागेको
हो आजकै दिन !!!
माँझ किराँतमा फुलहरु फुलाउने दृढ संकल्प गर्दै
लिम्बूवानमा मितेरी लगाउने बाचा गर्दै
मगरातमा माईति चेलिको
सम्बन्ध प्रगाढ पार्ने विश्वास दिलाउँदै
थारुवानमा खुशीको मुस्कानहरु छर्ने प्रण गर्दै
नेवाःमा सँस्कृतिको ज्वजल्यावान बनाउने अठोट गर्दै
तम्सालिङमा च्याङ्वा र मैच्याङसँग
छमछमी नाँच्ने
दृढ संकल्प साँचेर
शताब्दीकै संगीनको धारमा
सुन्दररुपी जिवन खोज्दै
अग्निकुण्डमा विश्वास देखेको
हो आजकै दिन !!!!
दुनियाँले कोल्टे फेरिएर
असमानताको पर्खाल भिमकाय भएकोछ
वर्ग फेरिएर अभिजात भएकोछ
सतिसाल झै उभिएको
युग बदल्ने संकल्प
रछ्यानमा धुजा–धुजा छन्
शताब्दीकै दुर्भाग्य झन् झन् बोझिलो
अनि पेचिलो बन्दै
स्वाधीनताको खाडल चौडा भएको छ
यस्तै यस्तै भएको छ
हो आजकै दिन !!!!!
लेखक: नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य

