जिम्मेवार र विवेकपूर्ण निर्णय गर्न नेताहरुलाई नेकपा सोलुखुम्बुको आग्रह



सोलुखुम्बु ,२१ असार। नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) सोलुखुम्बु जिल्ला कमिटीले अत्यन्तै जिम्मेवार र विवेकपुर्ण निर्णय लिइ पार्टी एकता र सुदृढीकरणको पक्षमा अघि बढ्न नेतृत्वसंग आग्रह गरेको छ।

पार्टीको जारी केन्द्रीय सचिवालय बैठकको क्रममा भैरहेको बहसले पार्टीपंक्ति,मतदाता,शुभेच्छुक र आम जनसमुदायमा गम्भीर चिन्ता र चासो उत्पन्न भएको उल्लेख गर्दै अध्यक्ष मानवीर राई र सचिब गोम्बु शेर्पाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा बहसलाई स्वस्थ र मैत्रीपुर्ण बनाउंदै पार्टीलाई एकताबद्द बनाएर लानुको बिकल्प नरहेको उल्लेख गरिएको छ।

एउटा जीबन्त र गतिशील कम्युनिस्ट पार्टीमा बहस र छलफल स्वभाविक भएपनि बहस र छलफल लाई जिम्मेवार र ब्यबस्थित ढंगले संचालन गर्न नसक्दा बिश्व र नेपालकै कम्युनिस्ट आन्दोलनमा टुटफुट र बिभाजन भएको इतिहास साक्षी रहेको स्मरण गराउंदै सो बिज्ञप्तिमा संकटको यस घडीमा कम्युनिस्ट एकता चाहने आमनेता,कार्यकर्ता र आम जनसमुदायको चाहना र भावनाको कदर गर्दै अगाडी बढ्न ध्यानाकर्षण समेत गराइएको छ।

नेपालको विभिन्न धारा र गुटमा बिभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै समाजबाद स्थापना गर्ने कार्यभारसहित दुई ठुला कम्युनिस्ट पार्टी एकताबद्ध भएको र कम्युनिस्ट एकता र स्थिर सरकारका लागि जनताले दुई तिहाइ नजिकको बहुमत दिएको भन्दै जिल्ला कमिटी सोलुखुम्बुले आपसी असमझदारीमा पार्टी बिभाजन हुन गएमा त्यो राष्ट्र,आम कार्यकर्ता र मत दिने जनतामाथि गम्भीर धोका हुने चेतावनी दिएको छ।

पार्टी एकताको बांकी कामलाई पुर्णता दिदैं सिंगो राष्टृय एकता र समृद्धिका लागि अघि बढ्नु आवश्यक रहेको भन्दै बिज्ञप्तिमा पार्टी एकताका लागि धैर्यतापूर्बक जिम्मेवार र सकारात्मक भुमिका निर्बाह गर्न नेता, कार्यकर्ता र शुभचिन्तकहरुमा अपिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्