बालुवाटरमा ओली र प्रचण्डबीच छलफल जारी
काठमाडौं १९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीचको भेटवार्ता भर्खरै सुरु भएको हो । पार्टी एकतामा नै गम्भीर संकट पैदा भएको भन्दै समस्या समाधानको लागि दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद व्यापक बढेपछि पार्टी फुट्ने डरले दोस्रो तहका नेताहरु पनि सक्रिय भएका छन् । उनीहरुले शीर्ष नेताहरुलाई भेटेर र सामाजिक संजालमा आफ्नो प्रतिक्रिया दिएर नेताहरुमाथि दबाब बनाउन शुरु गरेका छन् ।
नेताहरुले पार्टी एकता टुट्न नहुने प्रतिक्रिया दिइरहेका बेला नेकपामा अब के हुन्छ भन्ने प्रश्न सबैले गरेका छन् ।
बिहीबार दिनभरीको घटनाक्रमले पार्टी भित्र ठुलो समस्या देखिएको स्पष्ट भएपछि अब यसलाई कसरी मिलाउने भन्ने मध्यमार्गी बाटोको खोजीमा लागेको नेकपा नेताहरुले बताएका छन् ।