लिखुपिके घटना: बिधिको शासन माथि चुनौती -अध्यक्ष बास्तोला



सोलुखुम्बु,१ असार ।नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बांस्तोलाले लिखुपिके हातपात र दुर्ब्यबहारको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाका दोषीमाथि कडा कारबाहीको माग गरेका छन।

सोलुदुधकुण्ड नगरपालिका उपमेयरमाथि नियोजित आक्रमणको घटना सेलाउन नपाउंदै गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेत (शान्त ) र उपाध्यक्ष प्रमिला बस्नेतमाथि वहाँहरुकै कार्यकक्षमाथि हातपात र दुर्व्यवहार हुनु घृणित र निन्दनीय भएको उल्लेख गर्दै अध्यक्ष बास्तोलाद्वारा आइतबार जारी बिज्ञप्तिमा शृङ्खलाबद्द रुपमा घटित यस प्रकारका घटनाप्रति खेद व्यक्त गरिएको छ।

गाउँपालिकाको बिकास निर्माणका निम्ति अहोरात्र जनताको सेवकको रुपमा काम गरिरहेका स्थानीय सरकार प्रमुख तथा उपप्रमुखमाथि कार्यालय समयमा यसप्रकारको घटना हुनु निन्दनीय र संघीय लोकतान्त्रिक गणतन्त्रको भावना बिपरित भएको उल्लेख गर्दै बिज्ञप्तिमा अराजक जत्थाहरुबाट गुण्डा गर्दी शैलीमा भएको हातपात र दुर्ब्यबहारले बिधिको शासनमाथि चुनौती खडा गरेको टिप्पणी गरिएको छ।


‘आर्थिक बर्ष २०७७।०७८ को बजेट निर्माण र कोरोना भाइरसको महामारीबिरुद्ध लडिरहेका जनप्रतिनिधिमाथि दुर्व्यवहार गर्ने अराजक ब्यक्तिहरुलाइ कानुन बमोजिम कडा कारबाही गरि कानुनी राज्यको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउंदछु’- अध्यक्ष बास्तोलाद्वारा हस्ताक्षरित सो बिज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्